काठमाडौँ- संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताए।
‘ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आईसीसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ’, अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भने। ‘आईसीसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ’, उनले थपे।
आईसीसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाहविरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गरेको थियो। रिपब्लिकन सांसदहरूले सोमबार आईसीसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे।
रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भने, ‘आईसीसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ।’ घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गरेका थिए।
सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आईसीसीको आदेशलाई ‘लाजमर्दो र अनुचित’ भनेका छन्।
राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आईसीसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिए। उनले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आईसीसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताए। ‘आईसीसी अभियोजक आफँै अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो,’ उनले भने।
घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहूले भने, ‘हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ। ‘यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्’, टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उनले भने।


