काठमाडौँ- भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्कने भएका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार नेपाल वायुसेवा निगममार्फत स्वदेश फर्कने र साँझ ५ बजे नेपाल आइपुग्ने तय भएको छ।
स्वास्थ्यमा सुधार भएपछि डा भण्डारी बोल्न र हिँड्न थालेका छन्। नेपाल फर्केपछि पनि उनले उपचार गराउनुपर्नेछ। नयाँ वर्षको दिनमा भिडियो सन्देश जारी गर्दै डा भण्डारीले चाँडै स्वदेश फर्किएर उपचार गराउने इच्छा व्यक्त गरेका थिए।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते हरिकलाको निधन भएको थियो। डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।
