काठमाडौं – त्रिवि त्रिकेट मैदानमा नेपाल र कुवेतबीच एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलको २४ औं ओभर चलिरहेको समयमा वर्षा सुरु भएको छ। नेपालले तीन विकेट गुमाएर ब्याटिङ गरिरहेको बेला वर्षा सुरु भएकाे हाे। वर्षा सुरू भई खेल स्थगित हुँदा ३० रन बनाएका रोहित पौडेल र ३२ रन बनाएका कुशल मल्ल ब्याटिङ गरिहेका थिए।
यसअघि पहिलो विकेट गुमाएपछि लगातार दुई ओभरमा नै नेपालले दोस्रो र तेस्रो विकेट पनि गुमाएको थियो।
पहिलो विकेटका रुपमा ४३ रन बनाएका कुशल भुर्तेल आउट भएका थिए भने दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए। भीमले चार बलमा एक रन मात्र जोड्न सकेका थिए। उनलाई मोहम्मद असलमले सन्दरुवानको हातबाट क्याचआउट गराएका थिए।
त्यसपछि १३ औं ओभरमा नै नेपालका अर्का ओपनर आशिफ शेख पनि आउट भए। आसिफले ३१ रन बनाए।
अहिले वर्षा भएपछि खेल हुन सकेको छैन। जारी प्रिमियर कप अन्तगर्तत समूह चरणको खेल २ बजेसम्म पनि हुन नसकेको अवस्थामा रद्द हुने नियम थियो। तर सेमीफाइनलमा त्यो नियम छैन। एक टिमले जित निकाल्नै पर्ने भएको कारण आजको खेलमा नतिजा अनिवार्य हुन्छ। साथै आजको खेलको लागि तालिकामा रिजर्भ दिन पनि राखिएको छैन।
त्यसैले आज ५ बजे सम्ममा पुरा खेल हुन नसक्ने अवस्था देखिएमा एकएक ओभरको सुपर ओभर हुनेछ। साथै पहिलो सुपर ओभरमा बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ। दोस्रो सुपर ओभरबाट पनि नतिजा आउन नसकेको अवस्थामा भने नेपाल समूह चरणमा विजेता भएको हिसाबले सिधै फाइनलमा प्रवेश गर्नेछ।


