काठमाडौँ- नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ९ः१५ बजे डालासमा शुरु हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेपाल १७ औं र अमेरिका १९ औँ वरीयतामा रहेको छ। हेड टु हेडमा सन् २०१३ को नोभेम्बर १३ मा भएको खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो।
त्यहाँको मौसम प्रतिकुल रहेकाले खेल प्रभावित हुन सक्ने बताइएको छ। नेपालले विश्वकप खेल्नुअघि दुई ओटा वार्मअप खेल्ने अवसर पाएको हो।
यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो।
विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो।
अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ।
विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ। नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन्।


