काठमाडौँ- वर्षाका कारण नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द भएको छ। खेल सुरु हुनु पूर्व नै अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भारी वर्षा भएपछि खेल रद्द गरिएको हो।
आईसीसी टी २० विश्वकप अघिको अन्तिम वार्मअप खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने तयारी थियो।
वर्षाका कारण अमेरिकाले दुबै वार्मअप खेल खेल्न पाएन। नेपालले भने पहिलो वार्मअप खेल क्यानडासँग खेलेको थियो।
विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो। सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याच क्यानडाविरुद्ध खेलेको थियो। सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो।
अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच पनि खेल्न पाएको थिएन। बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण रद्द भएको थियो।


