ललितपुर- ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिस क्लबले जितेका छन्। ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन्।
पुरुष स्पर्धामा आर्मीले पुलिसमाथि ३–२ को सेटमा प्रतिस्पर्धात्मक जित निकाल्यो। आर्मीले पुलिसलाई २५–२०, २५–१७, २७–२९, १९–२५ र १५–७ को सेटमा हरायो। महिला स्पर्धामा पुलिसले एपीएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पाखा लगायो। उपाधिसँगै विजेता टिम आर्मी र पुलिसले ट्रफी सहित समान २-२ लाख रुपैयाँ प्राप्त गरे। उपविजेता पुलिस र एपीएफले समान एक लाख रुपैयाँ पाए।
पुरुषतर्फ पुलिसका विशाल बिके उत्कृष्ट स्पाइकर, पुलिसका द्वारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिब्रो, आर्मीका हरी हजुरी थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए। आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए।
महिलातर्फ एपीएफकी आरती सुवेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशोन्ना महतो उत्कृष्ट सेटर, पुलिस यमुना रसाईली उत्कृष्ट लिब्रो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए। पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिइन्। विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार र सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले विजेता खेलाडी तथा टिमलाई पुरस्कृत गरेका थिए। ललितपुर महानगरको आयोजनामा वैशाख ९ गतेदेखि सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो।


