जनकपुरधाम- नवनियुक्त मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए।
सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन्।
साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
योसँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ।
माओवादीका भरतप्रसाद साह अर्थमन्त्री बन्दा उद्योग, वाणिज्य र पर्यटनमन्त्री पनि माओवादीकै युवराज भट्टराई बनेका छन्।
एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। एमालेकै राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्रालयमा गएका छन्।
शत्रुधनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइएको छ।
त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवाललाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
नेकपा एसका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन्।
नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुनमन्त्री बनिन्।
नागरिक उन्मुक्ति पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायातमन्त्रीकी छन्।
बेची लुंगेलीले ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन्। लुंगेली एसकी सांसद हुन्।
मन्त्रीको सपथ खाएका तीनै जना महिला सर्लाहीबाट प्रतिनिधित्व गर्छन्। अन्सारी मलंगवा, बेची लुंगेली लालबन्दी र उर्मिला चौधरी ईश्वरपुरका हुन्।
त्यस्तै जनमत पार्टीकी रन्जुकुमारी मण्डल खङ्गले विनाविभागीय राज्यमन्त्रीको शपथ लिएकी छन्।
एमालेका केशव राय र शारदादेवी थापाले क्रमश: स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन्।


