काठमाडौँ- पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण रोक गरेसँगै सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन लागेको छ।
नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।
चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।
संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।
उता निगमले भने चालक/सहचालकका मागका विषयमा आपूर्ति मन्त्रालयमा छलफल गर्ने तयारी भइरहेको बताएको छ।





















