काठमाडौँ- पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी भएको थियो।
यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो।
तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके। एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए।
अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे। त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे।
उता, पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए। पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ। फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो।


