धनगढी– नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
समर्थन फिर्ता लिएसँग प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि राजीनामा बुझाएर बाहिरिएका छन्।
मुख्यमन्त्री दीर्घराज सोडारीलाई नभेटी समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएको हो।
‘मुख्यमन्त्रीज्यू यहाँ नभएपछि उहाँसँग टेलिफोन संवाद भयो,’ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने, ‘समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएका छौँ। हाम्रा मन्त्रीहरूले पनि सरकारबाट राजीनामा दिनुभयो।’
मुख्यमन्त्री दीर्घ सोडारी अहिले काठमाडौँ छन्। उनी नेकपा एसका नेता हुन्। नेकपा एसको महाधिवेशन काठमाडौँमा चलिरहेको छ।
एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अब मुख्यमन्त्री सोडारीले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग खुला गर्नुपर्ने एमालेको माग छ।


