दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरी पक्षमा ५३ प्रदेशसभा सदस्यले मत दिएका हुन्।
चौधरीका पक्षमा परेको उक्त मत प्रदेशसभामा कायम संख्याको बहुमत भएकाले चौधरीले विश्वासको मत पाएको सभामुखले घोषणा गरे। चौधरीको विपक्षमा २९ जनाले मतदान गरेका थिए।
लुम्बिनी प्रदेशसभामा १० दलका ८७ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभामा बहुमत पुर्याउन ४४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलले विश्वासको मत दिए।
नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेका थिए।
११ वैशाखमा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए।
