काठमाडौँ- मण्डला नाटकघर अनामनगरबाट थापागाउँमा सरेपछि पुरानै भवनमा हुर्किएका रंगकर्मी त्यतिबिघ्न घुलमिल हुन सकिरहेका थिएनन्।
उनीहरूले भवन सरेसँगै आफ्नो नाटकघरसँग दुरी बढेको महसुस गरे।
मण्डलाको चौथो ब्याचका प्रशिक्षार्थीसमेत रहेका रंगकर्मी अनुप न्यौपानेलाई लागिरहेको थियो, ‘यो त हाम्रो ‘स्पेस’जस्तै छैन।’ जबकि पुरानो भवनमा रहँदाको मण्डला सानो हुँदा पनि विराट लाग्थ्यो अनुपलाई।
शुक्रबारबाट मण्डलामा सुरु भएको तीन दिने ‘म्याड-फेस्ट’ अनुपहरूले गरेको त्यही अनुभूतिको उपज भइदियो। अनुपले खोजेका थिए, मण्डला बिरानो लाग्नुको कारण।
‘कहीँ पुरानै स्मृतिमा अल्झिएर पो हा कि!’ मन्थन गरे।
१७औँ ब्याचका नवोदित रंगकर्मी जन्माइसकेको मण्डलाभित्र पछिल्ला समय नयाँ र अपरिचित अनुहार बढ्दै थिए। ती मण्डला परिसरमा भित्रबाहिर बरोबर गरिरहेका हुन्थे। ती अनुहार पनि त मण्डलाकै प्रोडक्ट थिए।
‘एउटै स्कुलमा हुर्किएका पुराना र नयाँ साथीहरूबीचको दुरीले पनि मण्डला बिरानो लागेको रहेछ,’ अनुप सम्झन्छन्, ‘त्यसकारण हामीले त्यो दुरी मेटाउने योजना बुन्यौँ।’

नाटकको दृश्य।
त्यही योजनाले ‘म्याड फेस्ट’सम्म आइपुग्दा उनीहरूलाई एक ठाउँमा उभ्याइसकेको थियो। सुरुमा अनुपहरूले मण्डलाका विद्यार्थीहरूलाई भेटघाटको लागि आह्वान गरे।
गत वर्षको पुस ७ गते मण्डलाको आँगनमा डेढ सयभन्दा बढी रंगकर्मी भेला भएका थिए। सबैका अनुहार नवीन आशा र उत्साहले चम्किएका थिए।
‘यत्रो जनशक्तिलाई एकै ठाउँमा जोडिरहने माध्यम के होला?’
‘फेस्टिभल,’ उपयुक्त उपाय जुर्यो। फेस्टिभल निर्देशकको जिम्मेवारी अनुपले आफ्नै काँधमा लिए।
‘फेस्टिभल नजिकिँदै गरेको समय नयाँ र पुराना अनुहारलाई हामीले एकसाथ भेटेका थियौँ। ती अनुहारहरूलाई तपाईंले ‘म्याड फेस्ट’भरि ‘रेल्वे टु नो ह्वेर’, ‘शिल्पिनी’, ‘नुग्धा’, ‘अगम’, ‘अंकुरण’ र ‘मिरर’मा नियाल्न सक्नुहुन्छ,’ अनुप सुनाउँछन्, ‘अहिलेसम्म आइपुग्दा हिजो बिरानो लाग्नेहरू आज आत्मीय बनेका छन्।’
दुरी घटाउने उत्सव
१०औँ ब्याचकी विद्यार्थी नीति शाह अधिकारीमा आफू नाटकघरबाट टाढिएको अनुभूति थियो। उनी ‘कमब्याक’को उपाय खोजिरहेकी थिइन्।
उपाय खोजी गरिरहेको क्षण ‘म्याड फेस्ट’ नीतिको लागि अवसर बनेर आयो। अनि लेखिन् नाटक ‘अगम’, र बनिन् निर्देशक स्वयम्।
उनको नाटकले मातृत्वको कथा भन्छ। ‘एउटी महिलाले मातृत्व अनुभूत गर्न नपाउँदा ऊ कस्तो मनोदशाबाट गुज्रन्छे? परिवार र समाजले कस्तो दबाब दिन्छ? आमा हुन उसले कस्तो प्रयत्न गर्छे?’ नीति नाटकको मर्म सुनाउँछिन्।

योहाङ लामा ‘नुग्धा’का पात्र हुन्। १३औँ ब्याचका लामाले यतिबेला धेरैलाई चिन्ने मौका पाएका छन्।
‘त्यो मौका कोर्स गरिन्जेल कहिल्यै पाइएन। अहिले मण्डलासँग भिज्ने कसरी भनेर सोच्दासोच्दै यो उत्सवमा सहभागी हुन पाइयो,’ उनी भन्छन्।
आफ्नो टिमले स्क्रिप्ट लेखेर आवेदन दिँदा छनोट भएको क्षण लामा खुसी भए। ‘फेरि मण्डलासँग जोडिन पाइयो,’ उनी भन्छन्, ‘र मण्डला पनि अहिले मण्डलाजस्तो भएको छ।’
नाटक ‘नुग्धा’ एउटा कलाकारको जीवनसंघर्षसँग जोडिएको बताउँछन् उनी।
सागर कार्की फेस्टिभलमा ‘अंकुरण’को कथा भनिरहेका छन्। आठौँ ब्याचका उनी यतिबेला नाटकघरले सिकाइरहेको कुरा नाटकघरमै प्रदर्शन गरिरहेका छन्। उनका दृष्टिमा ‘अंकुरण’ आशाहरूको जागरण हो।
‘एउटी महिलाको सपना समाजले खोस्न खोज्छ, समाजविरुद्ध आशाका लागि उसले गर्ने संघर्ष हो,’ आफूहरूले मञ्चन गरिरहेको नाटकबारे उनी भन्छन्।
‘शिल्पिनी’ लेखक श्रीया सिंहले फेस्टिभलमा ‘मिटु मुभमेन्ट’लाई कथामा प्राथमिकता दिएकी छन्। उनले नाटकको कोर्स गर्दा, कक्षामा २१ पुरुषमध्ये ४ महिला थिए। महिलाको सहभागिता उनी नाटकमा बढेको देख्न चाहिन्थन्, चाहिन्छन्। त्यसकारण उनको नाटकमा ३ महिला र १ पुरुष छन्।
उनलाई यो फेस्टिभल सम्बन्धहरू गाँस्ने र आफ्नो कथा अभिव्यक्त गर्ने बलियो माध्यम लागेको छ।

‘रेल्वे टु नो ह्वेर’का लेखक/निर्देशक संयोग गुरागाईं १२ वर्षदेखि रंगमञ्चमा सक्रिय छन्। काठमाडौं आउँदा पहिलो पटक नाटकघर पसेपछि रंगमञ्चले संयोगलाई तान्यो। उनले पनि रंगमञ्चलाई पछ्याए। पछ्याउँदा थुप्रै नाटकका पात्र बने, लेखन र निर्देशन गरे। ‘यसपटकको नाटकचाहिँ प्रयोगात्मक छ। अर्धअसंगत ढाँचामा लेखेको छु,’ उनी भन्छन्।
१२ वर्षअघि नाटकघर प्रवेश गर्दा र अहिलेको समयमा भिन्नता पाएका छन् संयोगले। ‘त्यतिबेला सर्कल सानो थियो, अहिले ठूलो छ,’ उनको अनुभव छ।
जे होस्, नयाँ साथीहरूसँग सहकार्य गर्न पाउँदाको मीठो अनुभूति पनि उनले सँगालिरहेका छन्। त्यो अनुभूति सँगाल्न ‘म्याड फेस्ट’ले थप सहयोग गरिरहेको छ।
अहिलेको पुस्ताले कसरी सोच्छ? त्यो सोचसँग जोडिन पाइरहेका छन्।

उत्सवको क्षण
नयाँ रंगकर्मीलाई अवसर र पुरानोहरूलाई उत्तरदायित्व बोध गराइरहेकोे ‘म्याड फेस्ट’को भारी कतिको गह्रौँ छ? फेस्टिभल निर्देशक अनुप सुनाउँछन्, ‘सय केजी कपासको तौलजति।’ उनकै भाषामा भन्दा सुक्खा भइन्जेलसम्म त्यसको वजनले थिच्दैन।
अघिल्ला वर्षहरूमा किनाराबाट मात्र देखेको फेस्टिभललाई यसपटक काँधमै लिँदा दबाब महसुस गर्नु स्वभाविकै हो। यद्यपि त्यसको रोमाञ्चकता उतिकै अनुभव गरिरहेका छन् अनुपले।
यो अनुभवका लागि उनी मण्डलासँग आभारी छन्। जसले युवा रंगकर्मीको काँधमा जिम्मेवारी थमाइदिएर फेस्टिभलको अभिवावकत्व लिइरहेको छ।
पुरानो ठाउँको नोस्टाल्जिया र नयाँ भवनको बिरानोपनले तर्किरहेका अनुपले फेस्टिभलसम्म आइपुग्दा पुनः नयाँ अनुभूति गरिसकेका छन्।
‘आखिरमा मण्डला त जमिन रहेछ। जहाँ खनजोत गर्ने काम हाम्रै रहेछ,’ उनको पछिल्लो निष्कर्ष छ।

