काठमाडौँ- उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा समेटिएको कोलम्बियाका जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै फाइनल पुगेको हो।
कोलम्बियाले यसअघि सन् २००१ मा कोपाको फाइनल खेलेको थियो। र, त्यसमा मेक्सिकोलाई पराजित गर्दै उपाधि समेत जितेको थियो। त्यसअघि १९७५ मा पहिलो पटक कोपा फाइनल खेल्दा कोलम्बिया पेरुसँग पराजित भएको थियो।
दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको कोलम्बियाले अब १५ पटकको विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ।
लेर्माले खेलको ३९औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। जारी कोपामा छैटौं असिस्ट दिएका रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान राखेका छन्।
पहिलो हाफको इन्जुरी टाइममा कोलम्बियाका डानिएन मुनोज रातो (दोहोरो पहेंलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको थियो।
दोस्रो हाफमा १० भर्सेस ११ को अवस्थामा रहेपनि कोलम्बियामाथि उरुग्वेल गोल फर्काउन सकेन। कोलम्बियाले दोस्रो हाफको अन्त्यतिर गोल गर्ने दुई राम्रो अवसर गुमाएको थियो।


