ताप्लेजुङ– ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार र मंगलबारको लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट हिमाल सहज रूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन्।
घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राती पनि हिमपात भएको छ। यस्तै, ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ। ४ हजार २ सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो।
यसैगरी तेह्रथुम, संखुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन्।
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष १५ फागुनमा पनि हिमपात भएको थियो। यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ। हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन्।
मकैलगायत खाद्यान्न बाली लगाउने समय हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन्। त्यस्तै, नगदे बाली अलैंची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ।



