काठमाडौँ- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रकम असुली गरी नेपालीलाई शरणार्थी बनाउने र विदेश पठाउने काममा संलग्न भएको आरोप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
रायमाझीका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। काठमाडौँ जिल्ला अदालतबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो।
टोपबहादुर रायमाझी अर्घाखाँचीमा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। यसअघि उनी नेकपा माओवादी केन्द्रमा सक्रिय थिए। तत्कालीन नेकपा विभाजन भएर एमाले र माओवादी बनेपछि उनी एमालेमा लागेका थिए।
नक्कली शरणार्थी प्रकरणमा नै संलग्न भएको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे गृह मन्त्रालयका पूर्वसचिव हुन्। जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका उनी यतिबेला प्रहरी नियन्त्रणमा नै रहेका छन्।
नक्कली शरणार्थी प्रकरणमा नै प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। मंगलबार बिहान ललितपुरबाट राई पक्राउ परेका थिए।
भूटानी शरणार्थीको प्रमाणीकरणका लागि सरकारले २०७६ वैशाखमा बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। हालसम्म सार्वजनिक नगरिएको प्रतिवेदनको अनुसूचीमा नाम थपेर अमेरिका पठाइदिने भन्दै सचिव पाण्डेसहित राईको संलग्नता भएको गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको आरोप लागेको छ।
गिरोहमा संलग्न भएको आरोपमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परिसकेका छन्। दुलालले सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला निजी सचिवालयमा काम गरेको खुलेको छ।
भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन्। ऊर्जामन्त्री रायमाझीकै सहयोगी भण्डारी थिए।
यही गिरोहमा संलग्न भएको आरोपमा इन्द्रजितका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। मंगलबार बिहान पक्राउ परेका राईसँगै छोरा निरजलाई पनि पक्राउ तयारी प्रहरीले गरेको थियो। तर निरज नभेटिएपछि पक्राउ पुर्जी जारी गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा राईका बाबुछोरा पनि अनसन्धानमा तानिएका थिए। निरज भागेको हुनसक्ने प्रहरीको अनुमान छ। इन्द्रजित भने सौखेलस्थित निवासबाटै पक्राउ परेका थिए।
प्रहरी परिसर टेकुमा राखिएका राईसमेतले विभिन्न चरणमा ५ करोड रुपैयाँभन्दा बढी रकम आफूहरूबाट लिएको पक्राउ परेकाहरूले बयान दिएपछि राई पक्राउ परेका हुन्।
