काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन्।
आइतबार फेसबुकमा स्टाटस लेख्दै ढकालले यस्तो उल्लेख गरेका हुन्।
वाग्लेले आफूलाई पटकपटक फोन गरेको तर आफूले नउठाएपछि आफूसँग बस्ने भाइलाई फोन गरी कुटपिट गर्ने धम्की दिएको ढकालको स्टाटसमा लेखिएको छ।
‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’लगायत अनेक भनेकाले हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु,’ उनले लेखेका छन्।
ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरी महामन्त्रीबाट निस्कासन गरेको छ।
ढकालले पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्ताका क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय राजदूतलाई भेटेपछि आफूहरुलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने कुरा आफूसँग भनेको उल्लेख गरेका थिए।
उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल छ।


