बेइजिङ- उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ। घटनामा ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले समाचार प्रसारण गरेको छ।
चीनको साङ्सी प्रान्तस्थित साङ्लुओ सहर नजिकै झासुई भन्ने स्थानमा साङ्लुओ नदीमाथि बनेको पुल भत्किएको हो।
प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण पुल भत्किएको बताएको छ।
राजमार्गको पुल तल नदीमा खसेपछि ‘लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति’ बेपत्ता भएको सिसिटिभीले बताएको छ।
‘हालसम्म उद्धार गरिएका ५ वटा गाडीभित्र ११ जनाको शव फेला परेको हो,’ सीसीटीभीको समाचारमा उल्लेख छ।
उत्तरी र मध्य चीनमा मङ्गलबारदेखि निरन्तर वर्षा हुँदा बाढीपहिरोबाट प्रभावित भएको छ।
शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा ५ जनाको मृत्यु भएको र ८ जना बेपत्ता भएको जनाएको छ।


