काठमाडौँ- नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न माग गरेका हुन्।
केही समय पहिला एक मन्त्रीले अमेरिका लैजान सिफारिस गरेका आधारमा राजीनामा दिएको उल्लेख गर्दै उनले उपसभामुख रानामगरको राजीनामा खतिवडाले माग गरेका हुन्।
‘यस्तो बेला प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनुभन्दा संसदबाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ। संसद उपसभामुखको कार्यालय र कन्सल्टेन्सी हुन सक्दैन,’ उनले भने, ‘महिला अधिकारसँग कुनै साइनो सम्बन्ध नभएका व्यक्तिलाई सिफारिस कसरी गरियो छानबिन गर्नुपर्छ। केही समय पहिला एक जना मन्त्रीले राजीनामा दिनुपरेको थियो।’
यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसदप्रति लक्षित गर्दै सूचना बेच्ने व्यक्ति संसदमा भएको कुरा संसदको रोस्टमबाट भनेको स्मरण गर्दै खतिवडाले आफूले सूचना बेच्ने व्यक्ति नदेखेको तर ‘मान्छे बेच्ने तस्कर’ चाहिँ संसदमै रहेको भन्दै शंका पनि व्यक्त गरेका थिए।
बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले भने एक वर्षअघि लेखेको पत्रका आधारमा अहिले आएर मिडिया ट्रायल गरिएको भन्दै आपत्ति प्रकट गरिन्। उनले भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान नगर्ने तर उपसभामुखमाथि मानव तस्करीको गम्भीर आरोप लगाएको भन्दै आपत्ति प्रकट गरिन्।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने संवैधानिक परिषद्मा उपसभामुख पनि सदस्य हुने व्यवस्था भएको तर सत्ता पक्षले त्यसमा आँखा गाडेका कारण विवादित बनाइएको आरोप लगाए।
उपसभामुख इन्दिरा राना विवादमा परेकी छन्। पार्टी र संसदसचिवालयसँग असम्बन्धित मान्छेलाई भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेका कारण उनी विवादमा परेकी हुन्।
महिला अधिकारसम्बन्धी कार्यक्रमका अमेरिका जान लागेका ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।
आफूसँगै अन्य ५ जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा चिठीमा खुलाइएको छैन।
उपसभामुख इन्दिरा रानाले आफूबाट कुनै अनैतिक कार्य नभएको जिकिर गरेकी छन्। सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको उनको आरोप छ। उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन्।
‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्,’ उनको वक्तव्यमा जिकिर छ, ‘अनैतिक कार्य मबाट भएको छैन र हुने छैन। मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ। कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ। मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना २०७९ माघ ७ मा उपसभामुख निर्वाचित भएकी थिइन्। फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन्। महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ।
उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र झण्डै १७ महिनापछि हालै मात्र सार्वजनिक भयो। सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका थिए।
उपसभामुखमा निर्वाचित हुनुअघि उनी आबद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने रानामगरले आर्थिक लेनदेन नगरेको बताएको छ। अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै रास्वपाले आर्थिक लेनदेन नभएको जिकीर गरेको हो।
भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन्।
एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन्। आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ। त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ।
‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ।


