हेटौँडा- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार मात्र दाबी पेस गर्ने भएको छ।
कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले सोमबार सरकारमा दाबी पेस गर्ने भएका हुन्।
नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दाबी पेस गर्नेछन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका छन्।
सोहीअनुसार नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले अर्को सरकार गठन नहुन्जेल उनैलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन्।


