२०८३ कार्तिक ११ गते मङ्गलबार

पटक-पटकका सांसद जसलाई कांग्रेसले मन्त्री बनाएन

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, बैशाख २१
MP BUT NOT MINISTER CONGRESS

काठमाडौं– बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे। उनको क्याबिनेटमा सत्तासाझेदार दल नेपाली कांग्रेसले तीन जना मन्त्री पठायो। बिहीबार शीतल निवासमा उपसभापति धनराज गुरुङले कानुनमन्त्री, मोहनबहादुर बस्नेतले स्वास्थ्यमन्त्री र डिगबहादुर लिम्बूले खेलकुदमन्त्रीको सपथ लिए। योसँगै प्रचण्डको क्याबिनेटमा कांग्रेसका मन्त्रीको संख्या ८ पुगेको छ। यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशरण महत अर्थ, एनपी साउद परराष्ट्र, रमेश रिजाल वाणिज्य र सीता गुरुङ शहरी विकास मन्त्री बनेका थिए।

कांग्रेसबाट यसपटक मन्त्री बनेका ८ जनामध्ये ३ जना मात्रै नयाँ अनुहार हुन्। गुरुङ, रिजाल र लिम्बूले पहिलो पटक क्याबिनेट मन्त्री बन्ने अवसर पाएका हुन्। यसपटक समेत गरेर पाँच पटक मन्त्री बनिसकेका नेता हुन् खड्का। डा प्रकाशशरण महत मन्त्री बनेको यो तेस्रो पटक हो भने साउद र बस्नेत मन्त्री बनेको दोस्रो पटक। त्यसो त साउद र बस्नेत एक/एक पटक राज्यमन्त्री समेत भइसकेका नेता हुन्। यस्तै शहरी विकासमन्त्री गुरुङ यसअघि राज्यमन्त्री बनिसकेकी थिइन्।

कांग्रेसले यसपटक दोहोरिएर मन्त्री बन्नेलाई बढी प्राथमिकतामा राखेको छ। तर कांग्रेसमा दोहोरिएर सांसद् बनेपनि मन्त्री बन्ने अवसर नपाएका नेताहरुको संख्या ठूलै छ। उनीहरुले यसपटक पनि मन्त्री बन्ने अवसर प्राप्त गरेनन्। मन्त्री बन्ने र बनाउने विषय मूलत: पार्टी नेतृत्वको तजबिजमा निर्भर रहन्छ। जनताबाट अनुमोदित भएर आएका हुन् वा समानुपातिक कोटाबाट सांसद् बनेका नै किन नहुन्, अपवाद नेतालाई छाड्ने हो भने उनीहरुको चाहाना मन्त्री बन्ने नै हुन्छ।

मन्त्री बन्ने कुरा एउटा सांसद्को बुँताको विषय भने होइन। त्यसका लागि उसले गुट, उपगुट हुँदै पार्टी नेतृत्वसम्मलाई रिझाउनुपर्ने हुन्छ। जसले गुटको नेता वा पार्टी नेतृत्वको रिझ्याउन सक्छ, त्यही मन्त्री बन्छ। क्षमता, अवसर र न्याय भन्ने चिज नेपाली राजनीतिमा गौण भइसकेको छ। कतिपय अवस्थामा गुटको नेता र नेतृत्व रिझ्याउन सफल हुँदा पनि गुटगत भागबन्डामा प्राप्त भएको सिमित संख्या, भुगोल, लिंग र समुदायको विषयले ती नेताहरुको मन्त्री बन्ने सपना साकार हुन सक्दैन। अहिलेको प्रतिनिधिसभामा पनि कांग्रेसका केही यस्ता सांसद् छन्, जो दोहोरिएर/तेहेरिएर सांसद् बनेका छन्। तर उनीहरुले मन्त्री बन्ने अवसर भने पाएका छैनन्।

चारपटक सांसद् बनेपनि मन्त्री बन्न नपाएका कोइराला
कांग्रेसका पूर्व महामन्त्री समेत रहेका शशांक कोइराला चौथो पटक सांसद् बनिसकेका छन्। तर, उनले मन्त्री बन्ने सौभाग्य भने प्राप्त गरेका छैनन्। ०६४ देखि निरन्तर सांसद् रहेका उनले मन्त्री बन्ने इच्छा त देखाएका छन्, तर उनको इच्छा पूरा भने हुन सकेको छैन।

डा शशांक कोइराला।

संविधानसभा सदस्य निर्वाचन २०६४ र दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा नवलपरासी १ बाट विजयी भएका उननी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ र ०७९ मा नवलपुर-१ बाट निर्वाचित भएका थिए। उनले यसपटक घुमाउरो भाषामा कृषिमन्त्री बन्ने इच्छा देखाएका थिए। उनले फागुन २२ गते गैंडाकोट पुगेर भनेका थिए, ‘हुन त मलाई कृषिमन्त्री बन्न मन छैन। तर, मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको कुरा गर्न सक्छु भन्ने त्यो विश्वास मसँग छ।’

शेखर तेस्रो पटक सांसद्, पूरा भएको छैन मन्त्री बन्ने इच्छा
नेता शेखर कोइराला तेस्रो पटक सांसद् बनेका छन्। उनको मन्त्री बन्ने इच्छा पहिले देखिकै हो। तर उनले अवसर भने पाएका छैनन्। ०७३ सालमा कांग्रेस-माओवादीको संयुक्त सरकार बन्दा कोइरालाले परराष्ट्रमन्त्री बन्ने इच्छा देखाएका थिए। तर प्रचण्डको क्याबिनेटमा सभापति शेरबहादुर देउवाले शेखरले इच्छा देखाएको परराष्ट्र मन्त्रालयमा हालका अर्थमन्त्री महतलाई पठाएका थिए।

त्यसो त यसपटक पनि शेखर मन्त्री बन्ने चर्चा थियो। सरकारको नेतृत्व गर्दै परराष्ट्र वा अर्थ मन्त्रालयको जिम्मेवारी लिन शेखर तयार देखिन्थे। तर देउवाले सरकारको नेतृत्व गर्ने नेतामा उपसभापति खड्कालाई पठाए। जसका कारण शेखरको मन्त्री बन्ने बाटो रोकियो।

डा शेखर कोइराला।

संस्थापनइतर समूहको नेतृत्व गरिरहेका र सभापतिमा देउवासँग पराजित बनेका शेखर उपसभापति खड्काले नेतृत्वमा सरकारमा जाने स्थिति पनि रहेन। उनले आफू मन्त्री बन्ने अवस्था नरहेपछि गृहजिल्ला मोरङका लिम्बुलाई खेलकुद मन्त्री बनाएका छन्। शेखरको संसदीय यात्रा ०६४ बाट सुरु भएको हो।

२०६४ को संविधानसभा निर्वाचनमा मोरङ ७ मा पराजित भएका थिए। तर, २०६५ मा भएको उपनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए। २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भए। तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित हुन पुगे। ०७९ मा भने उनी निर्वाचित भए।

अवसर नपाएका पाण्डे
सह-महामन्त्री बद्री पाण्डे तेस्रो पटक सांसद् बने। तर मन्त्री बन्ने अवसर भने उनले अहिलेसम्म पाएका छैनन्। बजुराका पाण्डे पिछडिएको क्षेत्रबाट यसपटक मन्त्री बन्न सक्ने आकलन गरिएको थियो। तर, यसपटक पनि उनले मन्त्री बन्ने सौभाग्य प्राप्त गरेनन्।

बद्री पाण्डे।

उनी एकपटक संविधानसभा, एकपटक प्रतिनिधिसभा र एकपटक राष्ट्रियसभाको सदस्य बनेका छन्। २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका पाण्डे २०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। यसपटक भने उनी बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

चर्चामै सीमित आरजु
कांग्रेस सभापति देउवाकी पत्नी आरजु राणा देउवा यसपटक परराष्ट्रमन्त्री बन्ने चर्चा चलेको थियो। तर, त्यो चर्चा चर्चामै सीमित रह्यो। देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र मामलामा आरजुले हस्तक्षेप गर्ने गरेको चर्चा चल्ने गरेको थियो। सोही कारण उनी परराष्ट्रमन्त्री बन्न सक्ने आकलन गरिएको थियो।

डा आरजु राणा देउवा।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनी तीन पटक सांसद् बनेकी छन्। तीन पटक नै समानुपातिक तर्फबाट। ०६४, ०७० र ०७९ मा उनी समानुपातिक तर्फबाट सांसद् बनेकी हुन्। २०७४ मा भने उनी कैलाली-५ मा चुनाव हारेकी थिइन्।

चौधरीको इच्छा अधुरै
नेकपा एमालेबाट १ पटक र कांग्रेसबाट दुई पटक सांसद् बनेका विनोद चौधरीको मन्त्री बन्ने इच्छा छिपेको छैन। यसपटक पनि उनले अर्थमन्त्री बन्ने प्रयास नगरेका होइनन्। तर उनको प्रयास सफल भएन। ०७८ मा देउवा प्रधानमन्त्री हुँदा पनि उनी अर्थमन्त्री बन्न खोजेका थिए। तर त्यसबेला अर्थ मन्त्रालय माओवादीको भागमा परेको थियो।

संविधानसभा सदस्य निर्वाचन २०६४ मा चौधरी नेकपा (एमाले) बाट समानुपातिक सभासद् बनेका चौधरी २०७० सालमा भने सभासद् बनेनन्। ०७४ सालको प्रतिनिधिसभाको मुखमै कांग्रेस प्रवेश गरेका चौधरी समानुपातिक तर्फबाट सांसद् बनेका थिए। ०७९ मंसिरमा भएको निर्वाचनमा भने कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दियो। उनी पश्चिम नवलपरासी-१ बाट निर्वाचित भए।

देउवासँग नोकझोक गरेका परियार
सह-महामन्त्री जीवन परियार यसपटक मन्त्री बन्न चाहान्थे। संस्थापन इतर समूहले देउवासँग ३ जना मन्त्री मागेको थियो। संस्थापन इतर समूहले ३ जनालाई मन्त्री बनाउने र दलित कोटबाट मन्त्री बन्ने प्रयास परियारले गरेका थिए। तर, देउवाले संस्थापन इतर समूहलाई ३ जना मन्त्रीको कोटा दिएनन्। र, इतर समूहले पनि उपसभापति गुरुङ र लिम्बूलाई मन्त्री बनायो।

कांग्रेसले दलित, मधेसी र पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद्लाई मन्त्री बनाएन। सोही विषय बिहीबार बसेको पदाधिकारी बैठकमा परियार र सभापति देउवाबीच भनाभनसमेत भएको छ।

जीवन परियार।

परियारले पार्टीका तर्फबाट ८ जना मन्त्री पठाउँदा समावेशी सिद्धान्तलाई तिलाञ्जली दिइएको भन्दै गुनासो गरेका थिए। ‘८ जना मन्त्री पठाउँदा पनि दलित, मधेस र पिछडिएको क्षेत्रको प्रतिनिधित्व गरिएन। यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन,’ परियारले भनेका थिए। परियारले गुनासो गरेपछि देउवाले जवाफ फर्काउँदै भनेका थिए, ‘कहाँ सम्भव छ! कहाँ सम्भव छ! पहिला बहुमत ल्याउने सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने।’ परियार ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सभासद् बनेका थिए। यसपटक पनि उनी समानुपातिक तर्फबाट सांसद् बनेका हुन्।

गुट फेरेपनि मन्त्री बन्न सकेनन् भण्डारी
दुई पटक सांसद् बनिसकेका चन्द्र भण्डारीले पनि मन्त्री बन्ने अवसर पाएका छैनन्। ०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनपछि भण्डारी संस्थापन इतर क्याम्प छाडेर संस्थापन क्याम्पमा प्रवेश गरेका थिए। उनले त्यसरी क्याम्प फेर्नुको पछाडिको कारण मन्त्री बन्ने चाहना नै रहेको चर्चा कांग्रेस नेताहरुकाबीचमा हुने गरेको छ। तर उनको त्यो चाहाना भने पुरा हुन सकेन।

चन्द्र भण्डारी।

०७३ मा प्रचण्डको क्याबिनेटमा र ०७४ मा आफ्नै क्याबिनेटमा पनि देउवाले भण्डारीलाई अवसर दिएनन्। ०७४ मा भएको प्रतिनिधिसभामा पराजित भएका भण्डारीले देउवा समूह छाडेर पुनः इतर समूहमै फर्किए। त्यसयता उनी देउवाका कटु आलोचक मध्येका एक हुन्। कांग्रेसको १४औं महाधिवेशनमा भण्डारी शेखर समूहबाट उपसभापति लडेका थिए। उनी ०७० र २०७९ सालमा गुल्मी-१ बाट निर्वाचित भएका हुन्। ग्यास विस्फोटमा परेर घाइते भएका भण्डारी अहिले उपचाररत छन्।

दोस्रो पटक सांसद् बनेका ५ सांसद्ले पनि पाएनन् अवसर
०७० र ०७९ मा ओखलढुंगाबाट निर्वाचित भएका रामहरि खतिवडा यसपटक मन्त्री बन्ने प्रयासमा थिए। उनी आफैंले पनि यसपटक मन्त्री बन्ने सम्भावना रहेको बताउने गरेका थिए। उनले सभापति देउवा, उपसभापति खड्का लगायतलाई आफ्नो इच्छा जाहेर गरेका थिए। देउवा समूहभित्र पनि उपसभापति खड्कासँग उनी नजिक छन्। खड्का आफैं मन्त्री बन्दा खतिवडाको चाहानामा ब्रेक लागेको बताइन्छ।

खतिवडाझैँ दोहोरिएर सांसद् बनेका नेता हुन्-देवप्रसाद तेमल्सेना। तर उनले पनि मन्त्री बन्ने अवसर पाएका छैनन्। उनी ०७४ र ०७९ मा रौतहट-४ बाट निर्वाचित भएका हुन्। रसुवाबाट लगातार (०७४ र ०७९)दोस्रोपटक निर्वाचित भएका मोहन आचार्यले पनि मन्त्री बन्ने अवसर प्राप्त गरेका छैनन्। यस्तै  स्याङ्जा-१ बाट निर्वाचित राजु थापाले पनि मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छैनन्। उनी २०७० को संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए।

त्यसो त दोहोरिएर समानुपातिक सांसद् बनेको खोटाङकी सरस्वती बजिमयको कथा पनि उस्तै छ। उनी ०७० को संविधानसभा र ०७९ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद् बन्ने भाग्यमानी नेतृ हुन्। सांसद् बन्न सफल भएपनि मन्त्री बन्ने विषयमा भने उनलाई भाग्यले साथ दिएको छैन।

प्रकाशित: २०८० बैशाख २१ गते बिहिबार ०९:३०
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना