कैलाली– सुदूरपश्चिम प्रदेशका कांग्रेस तथा एमालेका सांसदले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन्।
सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेश सभा बैठकमा कुनै पनि मन्त्री नगएपछि कांग्रेस-एमालेले टर्च बालेर सरकारको खोजी गरेका हुन्।
बाढीपहिरोबाट ठूलो क्षति भएका बेला बोलाइएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन्।
कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेको जनाए।
मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन कांग्रेस-एमाले र नाउपाले माग गर्दै आएका छन्।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद् छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताए।
यसअघि मुख्यमन्त्री सोडारीले संसद् उपस्थित भएकी मन्त्रीलाई बर्खास्त गरेकोका थिए।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई सोडारीले संसदमा गएको भन्दै बर्खास्त गरेका हुन्।
थापा आइतबारको प्रदेशसभा बैठकमा सहभागी भएकी थिइन्।
मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकमा सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।
यसअघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन्। आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए।
सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहेको थियो। तर आफूले जनताको आवाज उठाउन संसद् आएको बर्खास्त भएकी मन्त्री थापाले बताइन्।
प्रदेश सभामा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको थापाले बताइन्।
‘यस्तो अवस्थामा सरकारका सबै मन्त्री संसद्मा उपस्थित हुनुपर्ने हो उल्टै उपस्थित भएका मन्त्रीहरूलाई पनि बर्खास्त गर्ने सरकारलाई नै बर्खास्त गर्नुपर्छ,’ कांग्रेसका एक उनले भने ।
२० असारमा एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा छ। तर, मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन्।


