हाइफा (इजरायल) तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्यापछि गाजामा अझै बन्दी बनाइएका दर्जनौँ बन्धकको भाग्यलाई लिएर इजरायलीहरूबीच बुधबार चिन्ता बढेको छ।
“हानियाको हत्या गलत थियो किनकी यसले बन्धक सम्झौताको सम्भावनालाई खतरामा पार्छ”, तटीय सहर हाइफा निवासी ५० वर्षीय अनात नोयले भने, “हामी आज हृदयमा डरको भावना लिएर उठेका छौँ र यो अझ बढ्न सक्छ, त्यहाँ कुनै शान्ति छैन, हामी डराएका छौँ।”
बुधबार हमास र इरानी रिभोल्युसनरी गार्डले ६१ वर्षीय हानिया तेहरानमा इजराइली आक्रमणमा मारिएको घोषणा गरेका छन्।
उनी मङ्गलबार इरानी राष्ट्रपति मसुद पेजेसकियानको शपथ ग्रहण समारोहमा सहभागी हुन इरानी राजधानीमा थिए।
प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए।
हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले हानियाको हत्याले इजरायलसँगको युद्धलाई ‘नयाँ स्तर’ मा पुर्याएको भन्दै ‘सम्पूर्ण क्षेत्रका लागि ठूलो परिणाम’ को चेतावनी दिएको छ।
इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको हो। आधिकारिक इजरायली आँकडाका आधारमा एएफपीको ट्यालीअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ जनाको मृत्यु भएको थियो।
हमास लडाकूहरूले दुई सय ५१ बन्दीलाई बन्धकसमेत बनाएका छन्। तीमध्ये एक सय ११ अहिले पनि गाजामा छन् र तीमध्ये ३९ जनाको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ।
हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयलका अनुसार हमासविरुद्धको इजरायली जवाफी आक्रमणमा गाजामा ३९ हजार चार सय ४५ जनाको मृत्यु भएको छ।
समयको सार
कतार र इजिप्टको मध्यस्थता तथा अमेरिकाको समर्थनमा हमास र इजरायलबीच युद्धविराम र बन्धकहरूको रिहाई सम्झौताका लागि महिनौँसम्मको वार्ता असफल भएको छ। इजरायल र हमास दुवैले सम्झौतामा ढिलाइका लागि एकअर्कालाई दोषारोपण गरेका छन्।
हाइफाका अर्का बासिन्दा अवित बेन–इशाईले भने, “बन्धकहरू घर फर्किएपछि हामी खुशी हुनेछौँ र युद्ध समाप्त हुनेछ।”
अभियान समूह होस्टेज एन्ड मिसिङ फ्यामिलिज फोरमले युद्धको पछिल्लो करिब १० महिनाको सैन्य उपलब्धिलाई स्वीकार गरेको छ तर ‘साँचो उपलब्धि’ बन्धकहरूको फिर्तीपछि मात्र आउनसक्ने बताएको छ।
हानियाको हत्याको घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ, “समयको सार हो र हामी इजरायली सरकार र वैश्विक नेताहरूसँग वार्तालाई निर्णायकरूपमा अगाडि बढाउन आग्रह गर्दछौँ, यो सम्झौताका लागि समय हो।”
तेल अभिव निवासी शाहर बिन्यामीले हमास र लेबनानका हिजबुल्लाह आन्दोलन जस्ता सहयोगीहरूले हानियाको हत्यामा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले चिन्तित रहेको बताए।
“हमास र हिजबुल्लाहको प्रतिक्रियाले मलाई अहिले तनाव दिएको छ”, डरका कारण सामुद्रिक तट जाने योजना रद्द गर्दै २५ वर्षीय बिन्यामीले भने, “मेरो साथी सेप्टेम्बरमा उत्तरमा रिजर्भ सेवामा थिए र उनलाई स्ट्यान्डबाइ हुन भनिएको थियो।”
हानियाको हत्या हुनु केही घन्टाअघि मङ्गलबार राति इजरायली आक्रमणले दक्षिण बेरुत उपनगरको एक भवनमा हिजबुल्लाहका शीर्ष कमान्डर फुआद शुक्रलाई निशाना बनाएको थियो। लेबनानी समूहले अहिलेसम्म शुक्रको मृत्युको पुष्टि गरेको छैन।
आफ्नो पहिलो नाम मात्र बताउने तेल अभिव निवासी ज्याकोबले हानियाको हत्याबाट द्वन्द्वको समाधान हुन्छ वा हुँदैन भन्नेबारे निश्चित नभएको बताए।
“हाम्रो लक्ष्य सबैभन्दा पहिला बन्धकहरूको रिहाई हुनुपर्छ र अक्टोबर ७ को युद्ध हुनुहुन्नथ्यो”, उनले भने, “इजरायलले मध्यपूर्वमा शान्तिपूर्ण अस्तित्वका लागि सक्दो प्रयास गरिरहेको छ, हामीले सधैँ हाम्रो रक्षा गर्नुपर्छ।”
प्रकाशित: २०८१ साउन १६ गते बुधबार ०७:१७