काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
लुम्बिनीका घर्ती नेपाली कांग्रेस रोल्पाका पूर्वजिल्ला सभापति हुन्। सभापति शेरबहादुर देउवानिकट मानिने उनी कांग्रेस विभाजन हुँदा देउवाको पक्षमा थिए।
१४ वर्ष जिल्लामा पार्टीको नेतृत्व गरेका उनी १४औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि बन्ने दौडमा रहेका बेला वडामै पराजित भएका थिए।
२०१६ माघ १० गते रोल्पाको घर्तीगाउँमा जन्मिएका उनले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसंघबाट राजनीति सुरु गरेका थिए।
विभिन्न आन्दोलनमा जेलमा समेत पुगेका घर्ती २०४७ मा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बनेका थिए। २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भए।
तर जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए।
घर्तीले २०५० सालदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन्।
घर्ती नेपाली कांग्रेस विभाजन भएर देउवाले बनाएको कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति भएका थिए।
घर्ती २०४८ देखि २०७२ सम्म महासमिति सदस्य रहेका थिए। २०५९ देखि प्रजातान्त्रिक कांग्रेसमा रहेका थिए।
उनी २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बनेका थिए।
कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका जोशी कञ्चनपुरबाट प्रदेशसभा निर्वाचन हारेका व्यक्ति हुन्।
०७४ सालको प्रदेश सभा निर्वाचनमा कञ्चनपुर ३ (क)मा एमालेका प्रकाश रावल (हाल नेकपा एस)सँग पराजित भएका थिए।
सभापति देउवानिकट मानिने उनी १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।
बागमती प्रदेशको प्रमुखमा सिफारिस भएका देवकोटा एमाले अनुशासन आयोगका सदस्य तथा एमालेका पूर्व केन्द्रीय सदस्य हुन्।
उनी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीनिकट मानिन्छन्।
यसअघि बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार थिए।
असार २९ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्।
उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो।


