काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी भएको छ। यो २०७९ चैत मसान्तसम्मको कुल लगानी रकम हो। कम्पनीको जीवन बीमा कोषमा करिब १ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।
कम्पनीले १ सय ९२ कार्यालयबाट जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ। यसैबीच २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको कम्पनी वैशाख २१ गते विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गरी गुणस्तरीय र प्रभावकारी सेवा दिने बताए। वार्षिकोत्सवका अवसरमा कम्पनीले सातवटै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो।


