ललितपुर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन्।
राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले आरोप लगाए।
पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिवार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दू धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको बताए।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता सङ्कटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे।
राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको बताउँदै अध्यक्ष थापाले निरन्तरता सहितको परिवर्तन जरुरी भएको बताए।
कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति र मूल्य मान्यताको रक्षाबिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो।
कार्यक्रममा डा.विष्णु भण्डारी, राजाराम बर्तौला ‘चुनेली’ र सुदर्शन केसीले पनि बोलेका थिए।


