काठमाडौं- संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको संखुवासभा प्रहरीले जानकारी दिएको छ।
भोटखोला गाउँपालिका-४ मा सिम्रुङटार हम्बरे भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। उनीहरू भविन गुरुङ र सुरेन्द्र पौडेल भएको प्रहरीले जानकारी दिएको छ।
हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक सिडिओ मोहनमणि घिमिरेले जानकारी दिएका छन्।
हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन्।
तस्बिरहरू : वाङछेदर लामा






