काठमाडौँ- नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
शाहले नेकपा (एमाले)को समर्थनमा आइतबार दिउँसो मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत पाउने नदेखेपछि १०५ दिनपछि राजीनामा दिएका थिए।
वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी मुख्यमन्त्री बनेका थिए।
नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
कांग्रेस र एमालेसहितका विपक्षी दलका सांसदले प्रदेशसभा बैठकमा भाग नलिने तयारी गरेपछि सोडारीले राजीनामा दिने भन्दै प्रदेशसभा बैठकमा सहभागी हुन अनुरोध गरेका थिए।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमालेले असार २० गते उनलाई दिएको समर्थन फिर्ता लिएपछि शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
