ढाका- बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारतमा शरण लिएसँगै खालिदालाई रिहा गर्न आदेश दिएका हुन्।
‘बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी))की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्ने सर्वसम्मतिले निर्णय गरेको छ,’ राष्ट्रपति शाहबुद्दीनको नेतृत्वमा भएको बैठकपछि उनको प्रेस टोलीले भनेको छ।
७८ वर्षीया जियाको स्वास्थ्यमा समस्या छ। सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय पाएपछि उनी अस्पतालमै सीमित छिन्।
बैठकमा सेना प्रमुख जनरल वकेर-उज-जमान, नौसेना र वायुसेनाका प्रमुख र बिएनपी र जमात-ए-इस्लामी पार्टी लगायत धेरै विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए।
राष्ट्रपति मोहम्मद शाहबुद्दीनले सबैको जीवन र सम्पत्तिको रक्षा गर्न आग्रह गरेका छन्।
बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि सोमबार वाकरले सरकारी टेलिभिजनमा राष्ट्रलाई दिएको प्रसारणमा हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार बनाउने बताएका थिए। ‘बैठकले तत्काल अन्तरिम सरकार गठन गर्ने निर्णय गरेको छ,’ उनले भनेका थिए।
हसिनाले जुलाईको सुरुदेखि नै आफ्नो सरकारविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनलाई रोक्न खोजेकी थिइन्। तर आइतवार दमन गर्दा झण्डै १०० जना र सोमबार करिब १५० को संख्यामा हताहती भएको बताइएको छ।


