काठमाडौँ- बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ५ जनाकै मृत्यु भएको छ।
दिउँसो बुधबार १:१४ बजे त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको हेलिकोप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा पाँचै जनाको मृत्यु भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।
हेलिकोप्टर दुर्घटनास्थलमा ४ पुरुष १ महिलाको शव फेला परेको शिवपुरीस्थित गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीले जानकारी दिए।
हेलिकोप्टर खोल्सामा परेकोको उनको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो।
मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन्। हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी जाँदै थिए।
मृत्यु हुनेमा चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन्। एयर डाइनेस्टीका अनुसार ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने योजना थियो।
काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकोप्टर उडान सुरु गरेको तीन मिनेटमा नै सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। घटनाको खबर आउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टर परिचालन गरिएको थियो।
यसैबीच दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन्।


