ढाका- बंगलादेशमा शेख हसिनाको सरकार पतन भएको तीन दिनपछि अन्तरिम सरकारको प्रमुखका रूपमा नोबेल पुरस्कार विजेता डा मोहम्मद युनुसले शपथ लिने भएका छन्। बिहीबार साँझ ८ बजे बंगभवनमा युनुसले शपथ लिने त्यहाँको सेनाले जानकारी दिएको छ।
सपथ ग्रहण समारोहमा सहभागी हुन फ्रान्सको राजधानी पेरिसबाट युनुस ढाका प्रस्थान गरिसकेका छन्। उनी बिहीबार दिउँसो ढाका आइपुग्ने बताइएको छ। बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले बुधबार पत्रकार सम्मेलनमा अन्तरिम सरकारका सदस्यहरूको संख्या १५ सम्म हुन सक्ने बताएका छन्।
यसअघि डा. मुहम्मद युनुसले बुधबार देशवासीलाई सम्बोधन गर्दै हिंसाबाट टाढा रहन आग्रह गरेका थिए। आफ्नो अफिसियल वेबसाइट युनुस सेन्टरमार्फत विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
‘कृपया सबै प्रकारको हिंसाबाट बच्नुहोस्। म सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक व्यक्तिहरूलाई शान्त रहन आग्रह गर्दछु। यो हाम्रो सुन्दर देश हो जहाँ धेरै सम्भावनाहरू छन्। हामीले यसलाई हाम्रो र हाम्रा भावी पुस्ताहरूका लागि सुन्दर देश बनाउनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
उनले नयाँ संसार सिर्जनाका लागि नेतृत्व दिन तयार रहेका युवाहरू कुनै पनि अर्थहीन हिंसामा गएर मौका गुमाउन नहुने पनि बताएका छन्।
‘कृपया थप शत्रुहरू सिर्जना नगर्नुहोस्। शान्त हुनुहोस् र देश निर्माणको लागि तयार हुनुहोस्,’ विज्ञप्तिमा लेखिएको छ, ‘यदि हामीले हिंसाको बाटो लियौं भने सबै नष्ट हुनेछ। कृपया शान्त रहनुहोस्। आफ्नो वरपरका मानिसहरूलाई शान्त रहन मद्दत गर्नुहोस्।’
युनुसले बंगलादेशमा लघुवित्तको अवधारणा सुरूवात गरेका थिए। युनुसले गरिबहरूको जीवनस्तर सुधार गर्न सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरे। बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे। सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
नोबेल शान्ति पुरस्कारले युनुसलाई विश्वभर चर्चा दिलायो। शेख हसिनालाई आफूभन्दा अरू कोही लोकप्रिय भएको मन पर्दैनथ्यो।
भर्खर नोबेल पुरस्कार जितेर लोकप्रियताको शिखरमा रहेका बेला सन् २००७ मा युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका थिए। त्यतिबेला उनले नाम नतोकी सिद्धान्त नभएर नेताहरू पैसाका लागि राजनीति गर्ने भनेका थिए। यसले उनलाई थप लोकप्रिय बनायो। युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्यूत हुने डरले युनुसमाथि निशाना साँध्न थालिन्।
ग्रामीण विकास बैंकमार्फत युनुसले गरिबको रगत चुसेको आरोप हसिनाले लगाइन्। युनुसविरूद्ध चर्को ब्याज लिएको र भ्रष्टाचारको मुद्दा चलाइन्। यसै वर्ष युनुसलाई अदालतले कैद सजायसम्म सुनायो। तर उनै हसिनालाई सत्ताच्यूत गर्दै युनुस अन्तरिम सरकारको प्रमुख बनेका छन्।


