काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसीर भित्रै सम्पन्न गर्ने अडान दोहोर्याएका छन्। थापाले महासमिति बैठकमा पेश गरेको सांगठानिक प्रस्तावमा आएका सुझावसहित परिमार्जित गरी केन्द्रीय समितिमा पेश गरेको प्रस्तावमा ०८२ मंसीर भित्र महाधिवेशन सम्पन्न गर्ने अडान दोहोर्याएका हुन्।
‘नेपाली कांग्रेसको २०८७ मंसीरमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल विधान २०१७ (संशोधन सहित)को धारा ५३ बमोजिम आगामी २०८२ मंसीर मसान्तभित्र समाप्त हुनेछ। अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधान बमोजिम २०८२ मंसीरमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नेछौं,’ थापाले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ।
थापाले पार्टीले कुनै पनि चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने अडान पनि दोहोर्याएका छन्। बैठकमा पेश गरिएको सांगठानिक प्रस्तावमा पनि उनी चुनावी गठबन्धनको विपक्षमा उभिएका हुन् ।
सुझाव समेटेर तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ भन्ने कुरा नेपाली कांग्रेस ठान्दछ । अतः नेपाली कांग्रेसले तत्कालिक परिस्थिति र आवश्यकता अनुसार संविधान बमोजिम सरकार बनाउनका लागि अन्य दलहरूसँग तालमेल र सहमति गर्नेछ, त्यसका लागि पहलकदमी लिनेछ। तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’
एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गरेको थापाले उल्लेख गरेका छन् ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ


