काठमाडाैँ- पेरिस विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि कार्यवाहक सरकारको नेतृत्व गर्न बिहीबार बङ्गलादेश फर्केका मुहम्मद युनुसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने धेरै सत्ता विरोधीहरूले पछिल्लो ३५ वर्षमा आफ्नो मुलुकमा शासन गरेका थिए।
म्यान्मा : आङ सान सु की
सैन्य शासनकालमा करिब दुई दशकसम्म घरमै नजरबन्दमा रहेकी सु कीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
अन्ततः सेनाले सन् २०१० मा उनलाई स्वतन्त्रता प्रदान गर्यो। उनी सन् २०१६ मा सत्तामा आइन् र सन् २०२१ सम्म शासन गरिन्। तर रोहिङ्ग्या सङ्कटलाई सम्बोधन गर्ने उनको सरकारको तरिकाबाट विदेशमा उनको विरासतलाई धेरै क्षति भयो।
सन् २०१७ को सेनाको कारवाहीप्रति विश्वव्यापी रूपमा घृणा उत्पन्न भएको थियो। सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब सात लाख ५० हजार सदस्यलाई आफ्नो जलिरहेको गाउँबाट छिमेकी बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो।
सन् २०२१ फेब्रुअरीमा सैन्य विद्रोहबाट सु कीको सरकार अपदस्थ भएपछि उनलाई हिरासतमा लिइएको थियो। यसबाट म्यान्मामा संक्षिप्त लोकतान्त्रिक प्रयोग समाप्त भयो र व्यापक विरोध प्रदर्शन सुरु भयो। त्यसपछि उनलाई जुन्ता नियन्त्रित मुलुक म्यान्मामा २७ वर्षको जेल सजाय भयो।
पूर्वी टिमोर : जोस रामोस–होर्टा
स्वतन्त्रता समर्थक जोस रामोस–होर्टालाई सन् १९९६ मा क्याथोलिक विशप कार्लोस जिमेनेस फिलिप बेलोसँगै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। रामोस–होर्टालाई दुई लाख मानिसको ज्यान लिने तीतो द्वन्द्वको अन्त्य गर्ने प्रयासका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो।
इन्डोनेसियाले सन् १९७६ मा पूर्वी टिमोरलाई कब्जामा लिएको थियो।
रामोस–होर्टाले पहिलो पटक सन् २००७ देखि सन् २०१२ सम्म दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो मुलुक पूर्वी टिमोरको राष्ट्रपतिका रूपमा काम गरे। उनी मुलुकको पहिलो प्रधानमन्त्री पनि हुन्।
सन् २००८ को हत्या प्रयासबाट बाँचेका उनी सन् २०२२ मेदेखि पुनः राष्ट्रपति हुन।
दक्षिण कोरिया : किम–दाए–जुङ
हत्या प्रयास र मृत्युदण्डबाट बचेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम–दाए–जुङ अथक प्रजातन्त्र अभियानकर्ता हुन्।
दशकौँमा दक्षिण कोरियाको पहिलो उदारवादी राष्ट्रपति उनले उत्तर कोरियासँग संलग्न हुने ‘सनसाइन पोलिसी’ को स्थापना गरे र कोरियाली युद्धपछि पहिलो अन्तर–कोरयाली शिखर सम्मेलनका लागि सन् २००० मा प्योङयाङको भ्रमण गरे। सोही वर्ष उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो।
उनी सन् १९९८ देखि सन् २००३ सम्म दक्षिण कोरियाको राष्ट्रपति थिए। सन् २००९ मा उनको निधन भयो।
दक्षिण अफ्रिका : नेल्सन मन्डेला
दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी प्रतीक मन्डेला र निवर्तमान श्वेत राष्ट्रपति फ्रेडरिक डि क्लार्कले सन् १९९३ मा नोबेल शान्ति पुरस्कार जितेका थियो।
मन्डेलालाई २७ वर्षसम्म जेलमा राखियो र सन् १९९० मा उनको रिहाइले रङ्गभेदको अन्त्य भयो।
सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति बने। उनले पाँच वर्षको कार्यकाल पूरा गरे।
पदभार ग्रहण गर्दा उनले आफैँ र विश्वको शान्तिमा इन्द्रेणी मुलुकतर्फ काम गरिरहेको बताएका थिए। उनको सन् २०१३ मा ९५ वर्षको उमेरमा निधन भयोः।
पोल्यान्ड : लेक वालेसा
कम्युनिस्ट ब्लकको पहिलो र एकमात्र स्वतन्त्र ट्रेड युनियन, सोलिडारिटीका नेता वालेसाले सन् १९८३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए।
उनी सन् १९९० मा युद्धपछि पोल्यान्डको पहिलो लोकतान्त्रिकरूपमा निर्वाचित राष्ट्रपति हुन्। उनले दोस्रो विश्व युद्धपछि मुलुकमा तैनाथ सोभियत सङ्घका सैनिकहरूको प्रस्थानलाई सुनिश्चित गरे। सन् १९९५ र सन् २००० को निर्वाचनमा उनी पराजित भए।
सार्वजनिक भाषणमा फर्केर उनले विश्व यात्रा गरे र शान्तिपूर्ण सङ्क्रमणको सन्देश फैलाए।
उनीमाथि बारम्बार डरलाग्दो गोप्य सेवासँग एजेन्ट कोड ‘बोलेक’ नामको रूपमा काम गरेको आरोप लगाइएको थियो जसलाई उनले अस्वीकार गरेका थिए।


