काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ।
२० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका सिंहलाई जनमतले पार्टीसँग समन्वय नगरेको भन्दै स्पष्टीकरण सोधेको हो।
प्रवक्ता शरदसिंह यादवका अनुसार मुख्यमन्त्री सिंहले महत्वपूर्ण निर्णय लिँदा पार्टीसँग समन्वय गरेका थिएनन्।
मन्त्रालय बाँडफाँड, जम्बो मन्त्रिपरिषद् बनाउँदा समेत उनले पार्टीसँग समन्वय नगरेको यादवले बताए।
त्यसो त जनमत पार्टी मुख्यमन्त्री सिंहको कार्यशैलीलाई लिएर समेत असन्तुष्ट देखिएको छ।
सिंहले सरकारको काम प्रभावकारी बनाउनुको साटो उद्घाघन समारोहमा समय खर्चिएको भन्दै जनमत पार्टी असन्तुष्ट देखिएको हो।
‘सरकारको काम प्रभावकारी बनाउनुको साटो उहाँ उद्घाटन गर्दै हिड्नुभएको छ,’ प्रवक्ता यादवले भने, ‘पार्टीको निर्देशनलाई समेत उहाँले बेवस्ता गर्नुभएको छ।’
यस्तै बजेटमा सांसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमामा पनि जनमत पार्टी उनीसँग असन्तुष्ट देखिएको छ।
सिंहको कार्यशैलीले पार्टीको छविमा आँच पुर्याउने काम गरिरहेकाले उनलाई स्पष्टिकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ।
मुख्यमन्त्री सिंहले गत मंगलबार आफ्नो क्याविनेटमा पाँच राज्यमन्त्री थपेका थिए। मधेस सरकारमा यसअघि १२ मन्त्री र तीन जना राज्यमन्त्री थिए।
मंगलबार सिंहले क्याबिनेट विस्तार गर्दै २० सदस्यीय क्याबिनेट बनाएका थिए।
जनमत पार्टी नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले र लोसपा पनि सहभागी छन्।


