काठमाडौँ– नेकपा माओवादी केन्द्रले संसदीय व्यवस्थबाट पार्टी प्रदूषित भएको ठहर गरेको छ। अब पार्टीमा शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन्।
जारी स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रममा नेताहरुले पार्टीलाई सुदृढ बनाएर जानुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
‘परिस्थिति पेचिलो र जटिल हुँदैछ। राष्ट्रियता र लोकतन्त्र जनताको जनजीविकाको सम्बन्धमा पनि त्यसलाई सामना गर्न पार्टी नै सवल हुनुपर्छ। त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्छ,’ उनले भने, ‘कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदूषित भएका छौं। त्यो प्रदूषणबाट मुक्त गर्न शुद्धीकरण अभियान चलाउनुपर्छ। त्यो अभियान पार्टीको मात्रै नभइ राज्यको पनि हो।’
प्रवक्ता सापकोटाले बैठकमा नेताहरुले बृहत् वामपन्थी एकीकरणको विकल्प नभएको पनि बताए।
‘समाजवादी मोर्चामा रहेकाहरुसँग पनि कुरा भइरहेको र नेकपा एसका अध्यक्ष माधव नेपाल विप्लवसहित बृहत् एकीकरणको लागि तीव्र पहलकदमी लिनुपर्छ भन्ने कुरा पनि राख्नुभएको छ,’ उनले भने।
माओवादीले सत्ताबाट हटेपछि मात्र संसदीय व्यवस्थामा प्रदूषण देखेको हो। माओवादीका अध्यक्ष प्रचण्डको सत्तायात्राको उत्तरार्द्धसम्म आइपुग्दा पनि आफूहरूसँग जादुयी नम्बर भएकाले कांग्रेस र एमालेलाई पालैपालो साथ लिएर सरकारमै रहन सकिने बताएका थिए।
प्रतिनिधि सभामा ३२ सिटका साथ माओवादी तेस्रो दल हो। सुरुमा दोस्रो दल एमालेको समर्थन लिएर प्रधानमन्त्री बनेका दाहालले पछि एमालेलाई धोका दिएर पहिलो दल कांग्रेससँग सत्ता साझेदारी गरेका थिए। पछि कांग्रेसलाई पनि पाखा पार्दै पुन: एमालेसँग सत्ता साझेदारी गरेका थिए। जतिपटक सत्ता साझेदार परिवर्तन गरेपनि प्रचण्डले प्रधानमन्त्री पद छोड्न परेको थिएन। प्रदेशहरूपमा पनि माओवादीले प्रतिपक्षी कित्तामा पुग्नुपरेन। आफू सत्तामा रहँदा संसदीय व्यवस्थाकै जादुयी नम्बरको उपभोगलाई केन्द्रबिन्दु बनाएको माओवादीले सत्ताबाट हटेपछि भने संसदीय व्यवस्थामा प्रदूषण देखेको हो।


