चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। आव २०७२/७३ देखि हालसम्म ३० वटा बाघ मरेको निकुञ्जले विवरण सार्वजनिक गरेको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन्।
आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। उनका अनुसार मृत भेटिएका बाघमा बूढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण नखुलेको पाइएको छ।
यस्तै, आर्थिक वर्ष २०७२/७३ मा एक, २०७३/७४ मा चार, २०७४/७५ मा ६, २०७५/७६ मा आठ बाघ मृत भेटिएका थिए। आव २०७६/७७ मा तीन, २०७७/७८ मा दुई र २०७८/७९ मा ६ वटा बाघ मृत भेटिएका थिए। चालू आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेको छ।
संख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकापसमा जुध्ने गर्नाले मृत भेटिने संख्या बढेको तिवारीले बताए। निकुञ्जको तथ्यांकअनुसार चालू आवको चैत मसान्तसम्म ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन्। ९६ वन्यजन्तुको उद्धार गरिएको छ।



