इटालीको नेपल्स सहरमा आज उल्लास छ। बिहीबार रातिबाट सुरु भएको उल्लास शुक्रबार पनि जारी नै थियो। पूरै सहर निकै ठूलो ‘स्ट्रिट पार्टी’मा परिणत भएको छ। सडकमा मानिस गीत गाउँदै हिँडिरहेका थिए, केही नाच्दै गरेको देखिन्थ्यो। केही एक अर्कासँग लामो समय अंगालो मारिरहेका थिए। तिनीहरुका अघि बालबालिका फुटबल खेलिरहेका थिए, मानिस खुसीका फोहोरो अनुहारमा लिएर हाम फलिरहेका थिए भने कोही नापोलीको विशाल झण्डा फराइरहेका थिए।
बिहीबार राति नापोलीले इटालीको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता नापोलीले जितेको थियो। इटालीको घरेलु लिग सिरी ए को उपाधि नभित्रिएको तीन दशक भइसकेको थियो। लिजेन्ड डियगो म्यारोडोनाको पुस्तापछि नापोलीका लागि घरेलु लिगको उपाधि बिरानो भइसकेको थियो।
तीन दशकपछि लिगको उपाधि जित्दा सहरमा उल्लास छाउनु स्वभाविकै हो। उडिनेसविरुद्ध उसकै मैदानमा भएको खेलमा जब रेफ्रीले अन्तिम सिट्ठी बजाए, तब नेपल्समा आतीशबाजी सुरु भइसकेको थियो। त्यो सिट्ठीको आवाजसँगै सयौँ मानिसहरु आनन्दको गीत गाउँदै बाटामा जम्मा भएका थिए।
‘हामीले यो मनैबाट सपना देखेका थियौँ। नेपल्स फेरि च्याम्पियन हुनेछ,’ यो गीतले त्यहाँको सहर गुञ्जिएको थियो। उडिनेसविरुद्ध नापोलीले निकालेको नतिजा भने १–१ को बराबरीमा थियो। तर त्यो नतिजा नापोलीलाई लिग जित्न पर्याप्त बनेको थियो।
‘यो अनुभव गर्न सक्षम हुनको लागि यो मार्चमा आउनुपर्छ। अहिले म यस्तो जस्नमा पहिलो पटक रमाइरहेको छु। यो नेपल्सका लागि ऐतिहासिक छ,’ नाप्पाले भने।
‘यो इटलीको ऐतिहासिक पल हो। म यो पलको लागि रोइरहेको थिएँ,’ बाटामा नाचिरहेका एडोअर्डो नाप्पाले भने। १३ वर्षका यी बालक उपाधिको उत्सव सम्झने नयाँ पुस्ताका फुटबल फ्यान हुन्। उनले अब म्याराडोनाका ती कालहरु सम्झन त सक्दैनन्। तर सन् २०२३ को उपाधि भने उनका दिमागमा आइरहनेछ। लेजेन्ड विदेशी खेलाडी म्याराडोनाले नापोलीलाई दुई पटक सिरी एको उपाधि जिताएका थिए।

नाप्पाको परिवार।
‘यो अनुभव गर्न सक्षम हुनको लागि यो मार्चमा आउनुपर्छ। अहिले म यस्तो जस्नमा पहिलो पटक रमाइरहेको छु। यो नेपल्सका लागि ऐतिहासिक छ,’ नाप्पाले भने।
नापोलीका सडकमा पार्टी गर्नेहरुमा स्थानीय मात्र थिएनन्, इटलीका विभिन्न स्थानका नापोली समर्थक भेला भएका थिए। त्यति मात्र होइन फ्रान्स, स्पेन, बेलायतका नापोली समर्थकले त्यहाँ गएर स्थानीयको उत्सवमा सहभागी भए।
बिहीबार राति त यस्तो दृश्य देखिएको थियो कि – नेपल्स फुटबलमै बाच्छ अनि फुटबल नै सास फेर्छ। पूरा सहर नै रातो रंगले ढाकिएको थियो। साना गल्लीमाथि नीलो र सेतो रंग मिसिएका झण्डाहरु फरफराइरहेका थिए। ‘लाइफ साइज कार्टबोर्डका कटआउट’हरु सहरका माथिमाथि राखिएका थिए। तिनीहरुमा हाइड्रोजन ग्यास भरेर उडाइएको थियो। घरको बाहिरबाहिरै केक, पेस्ट्री, चिसो पेय पदार्थ, आइसक्रिम फालाफाल राखिएको थियो। ती सबै खानेकुरा खेलाडीलाई समपर्ण गरिएको थियो।
‘लाग्छ कि अहिले यहाँ विश्व नै शून्य गतिमा अघि बढिरहेको छ,’ विद्यार्थी अमेला बुफीले भने। उनी यही दृष्य हेर्नको लागि रोमबाट नेपल्स पुगेका थिए।

‘यो पार्टी आजबाट एक महिनासम्म चल्छ होला। र यो आउँदो समरमा गएर मात्र सकिन्छ। जतिबेला खेलाडीको ट्रान्सफर विन्डो खुल्नेछ। यो निकै रोमाञ्चक पल हो। नापलीवासीहरुले जे गर्छन्, मनबाटै गर्छन्। उनीहरु आफ्नो काममा प्रेम मिसाउँछन्,’ उनले भने।
तीन दशकबाट आयोजित पार्टी
यो महोत्सवको आयोजना लक्ष्य लिएको ३३ वर्षपछि मात्र पूरा भएको छ। पछिल्लो समय नापोलीले सिरी एको उपाधि जित्दा २०औं शताब्दी थियो। उतिबेला सन् १९९० मा नापोलीले उपाधि जितेको थियो। त्यतिबेला क्लबका कप्तान म्याराडोना थिए।
म्याराडोना नेपल्सवासीका लागि अझैसम्म प्रिय पात्र हुन्। उनको अनुहार वार विन्डोको साइडमा सजिएको थियो। बम्पर स्टिकर र बिलबार्ड छेउछेउमा राखिएका थिए। त्यसमा लेजेन्डको फोटो समेत थियो। जसले उनीप्रतिको आदर सम्मान झल्काउँथ्यो। त्यसमाथि लेखिएको थियो– डियोस। स्पेनी शब्दमा यसको अर्थ ‘भगवान्’ हुन्छ।
त्यो चित्रअघि धेरै मानिस भेला भएका थिए। उनीहरुले फूल र बत्तीका साथ उनलाई समर्पण गरेका थिए। त्यस्तै, केहीको अनुहार आँशुले भरिएको थियो। यसले त्यो संकेत गरिरहेको थियो कि नेपल्सबासिका लागि फुटबल संस्कृति बनिसकेको छ।
‘यो त आम संस्कृतिभन्दा पनि ठूलो भावना बनिसक्यो,’ उत्सव मनाउन आएका बिफीले भने, ‘हामी यहाँ के गर्न गइरहेको छौं भने त्यो अनुष्ठान हो। हामीले यहाँ डियागो म्यराडोनालाई महात्माको अवतार मानेर पनि प्रार्थना गरिरहेका छौं। यो निकै क्रेजी छ र मलाई यो मनपर्छ।’

टिमले जितेपछि गरिएको आतीशबाजी।
म्याराडोनाको निधन सन् २०२० मा भइसकेको हो। उनले नापोली फ्यानलाई फुटबलको धेरै अर्थ सम्झाएका छन्। ‘उनी दुर्गुणहरुले भरिएका मानिस हुन्। सँगसँगै उनी कविजस्ता र जादुगरजस्ता पनि थिए। त्यो उनको निकै सुन्दर कुरा हो,’ युरोपेली फुटबल समीक्षक मिना आरजोउकीले भनेकी छन्।
म्याराडोनालाई लिएर भावुक बन्नको लागि र उनको लागि प्रार्थना नापोलीसँग प्रशस्त कारण छन्। जब म्याराडोनाले आफ्नो दोस्रो उपाधि जिते। उतिबेला टिमले उपाधि जितिरहन सकेन। क्लबले आर्थिक संकट भोग्यो, उनीहरु टाट पल्टिए अनि लिगको तेस्रो डिभिजन सिरी सीमा पुगे। त्यो लिग भनेको व्यावसायिक फुटबल क्लबले खेल्ने सबैभन्दा तल्लो स्तरको लिग हो। सिरी सीबाट विस्तारै नापोली अघि बढ्नुपर्ने भयो।
सन् २००४ मा यो क्लबको टर्निङ पोइन्ट आयो। फिल्म निर्माता आएरेलियो डी लाउरेन्टीले क्लब किने। ‘उनले त्यस्तो टिम बनाए जसको खेल हेर्न सबै उत्साही हुन्थे,’आजोउकी भन्छिन्, ‘उनलाई थाहा थियो कि उनी सहरबासीको आगाध प्रेमलाई बुझ्छन्। उनले फुटबलको फ्यानबेस बुझेका थिए, जसले फुटबलको भक्तिगान गाउने गरेका छन्। उनको नेतृत्वमा नापाली अघि बढ्यो।’

तैपनि नोपालीले १९९० को जस्तो सफलता भने पाउन सकेन्। ‘सहरमा खेल्ने चरम दबाबका कारणले फुटबललाई कहाँ पुर्यायो त्यसलाई अनुमान नै गनै सकिँदैन। यसले धेरै अर्थ राख्छ। यस्तो सहरमा बस्नु निकै निसास्सिने कुरा हो कि जुन सहर सफलताको लागि निकै भोको छ,’ उनले भनिन्।
अन्डरडगको रिभेन्ज
इटाली फुटबलमा लामो समय युभेन्टसको राज रह्यो। ऊ च्याम्पियन्स लिगको फाइनलसम्मै पुग्यो। जित्यो पनि। तर नापोलीको यो जित एउटा जितभन्दा धेरै माथि छ। यो इटालीको धनी उत्तरी सहर र गरिब दक्षिण क्षेत्रको द्वन्द्व पनि हो। अक्सर धनी सहरले गरिब सहरलाई कमजोर आँक्ने गरेका छन्। आज नापोलीले आफूलाई सावित गरेको छ।
‘नापोलीका युवालाई अक्सर दक्षिणबाट उत्तरतिर जानका लागि बाध्य पारिन्छ। उनीहरु जागिर र जीवनको गुणस्तरका लागि उत्तरी सहर जाने गरेका छन्,’ नापोली टुडेका पत्रकार फ्रांको रोमानोले भने, ‘साथसाथै यो लिगको उपाधि जित्नु भनेको उत्तरी महाशक्तिविरुद्धको सामाजिक बदलाको रुपमा पनि हेरिएको छ।’
‘रोमको दक्षिणतिरको क्लबले यो लिग जित्नु भनेको मिलान अथवा टुरिनका क्लबले १० उपाधि जित्नु बराबर मानिएको छ,’ अर्का समर्थक इनरिकोले भने। नापोलीबासी अझैसम्म पनि देशको उत्तरी भेगको छायामा छन्। उनीहरुलाई अझैसम्म अपराध, गरिबी, हैजाको प्रकोपबारे आफ्नो उत्तरी प्रतिद्वन्दीबाट बिल्ला गरिने शब्द प्रयोग गरिन्छ।
‘यदि तपाई नेपल्समा जन्मनुभयो भने फुटबल तपाईंको जीवनको हिस्सा बन्नेछ,’ शीरदेखि पाउसम्म फुटबललाई संकेत गर्ने कपडाले सजिएका समर्थक गेइतानोले भने, ‘हाम्रो रगत निलो (नापोलीको रंग) छ यो रातो छैन।’
दक्षिणबाट जागिरका लागि मिलान गएका नापालीबासी बिहीबार बिहानै पूरा परिवारसाथ घर फर्किएका थिए। त्यस्ता व्यक्तिहरु फुटबलबारे आफ्नो प्यासन देखाउन चाहन्छन्।

जितको खुशीमा बगेको आशु थाम्न नसकेका समर्थक।
‘यो त्यस्तो कुरा हो कि जुन मुटुबाटै आउँछ। कसरी आउँछ थाहा छैन तर म यो उपाधिका लागि ३३ वर्षदेखि पर्खिरहेको थिएँ। म अहिले भावनाले भरिएको छु, फुटबलको शोखले पूर्ण भएको छु र भाग्यले साथ दिएको ठान्छु। म यो भावनालाई शब्दहरुमा बयान गर्न सक्दिनँ,’ गेइतानोले भने।
जब म्याराडोनाले उपाधि दिलाएका थिए, त्यसको केही महिनापूर्व नेपल्समा भूकम्पले विध्वंश मच्चिएको थियो। ‘गरिबीका कारण भत्किएको सहर नै संघर्ष गरिरहेको थियो। जताततै गरिबी फैलिएको थियो,’ मासिमो रामानोले भनेका छन्, ‘म्याराडोनासँगको त्यो जितले सहरलाई पुनर्जन्म दिएको थियो। त्यो धेरै अप्ठ्यारो अवस्थापछिको सहजपना थियो।’
तर अहिले अवस्था फरक छ। अहिले पनि नेपल्समा धेरै समस्या छन्। तर यो अहिले युरोपेली सहर बनेको छ जहाँ हजारौं पर्यटक घुम्न आउँछन्। यो त्यस्तो सहर भएको छ जो इटालीको बाहिर पनि धेरै चिनिएको छ। यता सहर भने फुटबल भनेपछि मग्न हुन्छ। यो सहर फुटबलको सबैभन्दा ठूलो पुजारी हो। यसले आफ्नो फुटबल टिमलाई धेरै सम्मान गर्छ। यो जितले सबैको शरीरमा ‘गुजबम्प्स’ आएको छ।
‘यो जितले हाम्रो र यो सहरको सफलताको अभिषेक गरेको छ। यस्तो अभिषेक चाहिँ हामी पछिल्लो सात-आठ वर्षदेखि पर्खिरहेका थियौँ,’ रोमानोले अन्तिममा भने।
(बीबीसीमा प्रकाशित यो सामग्री विनयज्योति सापकोटाले भावानुवाद गरेका हुन्।)



