काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्। सोमबार काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन्।
आइतबार आफूले मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उल्लेख गरेका थिए। यसका लागि श्रोत सुनिश्चिततासमेत गर्न सकिने उल्लेख गरे। उनले ४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउने निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे।
‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अनुसारको बीमा सुधार योजना कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीले समेत निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु,’ उनले भने।
बैठकमा नेतृ चित्रलेखा यादवले क्यान्सरको औषधि महँगो भएको विषयलाई सम्बोधन गर्न नसकेको बताइएकी थिइन्। यादवको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महँगा औषधिको मूल्य समायोजन गर्न मूल्य समायोजनको विषय कार्ययोजनामा समावेश गरिएको बताएका थिए।
‘नसर्ने रोगको औषधि मूल्य अकासिएको छ। यसको नियन्त्रण गर्न मूल्य समायोजनको प्रस्ताव ल्याएको छौँ। यसलाई कार्यान्वयन गर्न तत्काल काम थाल्ने तयारी रहेको छ, यसमा हामीले आवश्यक कार्य गर्ने छौँ,’ उनले भने।


