२०८३ कार्तिक २५ गते मङ्गलबार

कुन उमेर समूहका महिलाले  ‘आईभीएफ’मार्फत बच्चा जन्माउन सक्छन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
hu-chen-tCbTGNwrFNM-unsplash

काठमाडाैँ-  यसै साता ५२ वर्षीया एक महिलाले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन)मार्फत् काठमाण्डूस्थित एक निजी अस्पतालमा एक छोरालाई जन्म दिइन्।

उनको उपचारमा संलग्न आईभीएफ विशेषज्ञ डाक्टर नूतन शर्माका अनुसार विवाहको २८ वर्षसम्म गर्भधारण गर्न नसकेकी ती महिलाले महिनावारी रोकिएको चार वर्षपछि बच्चा जन्माएकी हुन्। ती महिलाका श्रीमान् ६१ वर्षका छन्।

“विवाह समयमै भए पनि धेरै वर्षसम्म बच्चा नभएपछि उनीहरू आएका थिए, पहिलो प्रयासमै गर्भधारण भएर बच्चा भयो,” बीएन्डबी आईभीएफ सेन्टरकी निर्देशकसमेत रहेकी डाक्टर शर्माले भनिन्।

नेपालमा यसअघि ५६ वर्षकी महिलाले पनि आईभीएफमार्फत् नै बच्चा जन्माएकी थिइन्।
पछिल्लो समय खासगरी बढ्दो उमेरका कारण हुने बाँझोपन वा पुरुषको शुक्राणु कम भएर गर्भधारण हुन नसकेका दम्पती आईभीएफ प्रविधिको सहायताले बच्चा जन्माउन आउने गरेको चिकित्सकहरू बताउँछन्।

उमेर बढ्दै जाँदा आईभीएफ विधि प्रयोग गरे पनि गर्भधारण गर्न किन कठिन हुन्छ?

जबाफमा डाक्टर शर्मा भन्छिन्, “उमेर पुगिसकेपछि पाठेघर रिसेप्टिभ (ग्रहणशील) हुन्न, कतिलाई मधुमेह, थाइराइड भएको हुन्छ अरूलाई अरू किसिमका रोगहरू लागिसकेको हुन्छ, त्यसैले उमेर बढ्दै जाँदा बच्चा पाउने काम गाह्रो बन्दै जान्छ।”

गर्भाधानको आईभीएफ विधि करिब ४६ वर्ष अघि सन् १९७८ मा सुरु भएको थियो।

त्यति बेला लेस्ली ब्राउन नाम गरेकी एक महिलाले विश्वको पहिलो टेस्ट ट्यूब बेबीलाई जन्म दिएकी थिइन्।

युगान्डाकी ७० वर्षीया सफिना नामुकवाईले पनि आईभीएफ प्रविधिबाटै जुम्ल्याहा बच्चा जन्माएकी छन्।

अफ्रिकी महादेशमा बच्चा जन्माउने सबैभन्दा वृद्ध महिलामध्ये सफिना एक हुन्।

अफ्रिका मात्रै नभई विश्वका थुप्रै ठाउँमा उमेर पुगिसकेका दम्पतीले आईभीएफ प्रयोग गरेर सन्तान जन्माउने क्रम बढेको चिकित्सकहरू बताउँछन्।

आईभीएफ प्रक्रिया के हो?

इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रजनन समस्या भएका व्यक्तिहरूलाई बच्चा जन्माउन मद्दत गर्न प्रचलित धेरै प्रविधिहरूमध्ये एक हो।

आईभीएफ प्रक्रियामा महिलाको अण्डाशयबाट अण्डा निकालेर प्रयोगशालामा शुक्राणुले निषेचित गरिन्छ।

त्यसरी बनेको भ्रूणलाई महिलाको गर्भमा हालिन्छ, ताकि भ्रूण बढ्न र विकास हुन सकोस्।

यो विधिमा दम्पतीले आफ्नो अण्डा र शुक्राणुको प्रयोग गर्न वा दाताको डिम्ब र शुक्राणुको प्रयोग गर्न सक्छन् ।

आईभीएफ प्रक्रिया कसका लागि हो?

सन्तान नभएका धेरै दम्पतीले यो प्रविधिको प्रयोग गरेर सन्तान जन्माउने गरेको र त्यो सङ्ख्या पछिल्ला वर्षमा नेपालमा पनि बढ्दै गएको डाक्टर नूतन शर्मा बताउँछिन्।

“मैले नेपालमा आईभीएफको अभ्यास गर्न थालेको १५ वर्ष भयो, यो अवधिमा सेवा लिन आउने मानिसको सङ्ख्या दोबरले बढेको छ,” उनले बीबीसी नेपाली सेवासँग भनिन्।

“काठमाण्डूबाहिर पनि नेपालगन्ज र धनगढीमा म बिरामी हेर्न गइरहन्छु। ढिलो विवाह गरेका कारण बाँझोपन हुने वा पुरुषमा शुक्राणु कम हुने समस्या देखिन्छ। तर त्यसबाहेक सङ्क्रमणका कारण र ट्यूब ब्लक भएका कारण पनि सन्तान जन्माउन गाह्रो हुन्छ।”

बाँझोपन भएका र शुक्राणु कम भएका पुरुषबाहेक पछिल्लो हुर्किसकेका सन्तान गुमाएका आमाबुवा आईभीएफ गर्न आउने गरेको उनले बताइन्।

“कतिपय ४०/४५/५० वर्षमा आउने आमाबुवाको या त विवाह ढिलो भएको हुन्छ वा बच्चा बितिसकेको हुन्छ,” उनले भनिन्।

“हालै मैले हेरेका धेरै केसहरूमा १८/२०/२२ वर्षका छोराछोरी या त रोगले वा दुर्घटनामा परेर बितेपछि फेरि सन्तानको चाह भएर आउनेहरू हुनुहुन्छ।”

आईभीएफले कसरी काम गर्छ ?

सबैभन्दा पहिले त महिलाको प्राकृतिक रजस्वला चक्रलाई औषधिले रोक्छ।

त्यसपछि महिलाको अण्डाशयले एकभन्दा बढी अण्डा उत्पादन गर्न सक्छ, जसका लागि औषधि दिइन्छ।

यो प्रक्रियाले कति काम गरिरहेको छ अर्थात् अण्डा परिपक्व भइरहेको छ कि छैन भनेर हेर्नको लागि अल्ट्रासाउन्ड स्क्यानहरूमार्फत् निगरानी गरिन्छ।

डाक्टरहरूले आवश्यकता अनुसार परिपक्व अण्डालाई औषधि दिन्छन्।

महिलाको योनीबाट अण्डाशयमा सुई हालेर अण्डा सङ्कलन गरिन्छ। अण्डालाई केही दिनसम्म शुक्राणुसँग मिसाएर निषेचित गर्न सकिन्छ।

त्यसपछि महिलाको गर्भमा एक/दुई/तीन वटा निषेचित अण्डा (भ्रूण) राखिन्छ।

एक पटक भ्रूणलाई महिलाको गर्भमा स्थानान्तरण गरिसकेपछि, प्रक्रियाले काम गरेको छ कि छैन भनेर दुई हप्तासम्म निगरानी गरिन्छ। त्यसपछि नियमित गर्भ परीक्षण गरिन्छ।

यी सबै प्रक्रिया पूरा गर्नुपर्ने आईभीएफ महँगो हुने बताइन्छ?

एउटा दम्पतीलाई आईभीएफमार्फत् बच्चा जन्माउन कति खर्च लाग्छ?

“आईभीएफमा पहिलो पटकमा औसत तीन लाख रुपैयाँ लाग्छ। यदि पहिलो पटक सफल भएन भने दम्पती दोस्रो पटक आउँदा एकदेखि डेढ लाख रुपैयाँमा हामी आईभीएफ गर्ने गर्छौँ,” डाक्टर शर्माले भनिन्।

कुन उमेरमा आईभीएफले राम्रो काम गर्छ?

आईभीएफ प्रक्रियाले कति सफलतापूर्वक काम गर्छ भन्ने कुरा महिलाको उमेर र उसको बाँझोपनको कारणमा निर्भर गर्ने बताइन्छ।

कम उमेरका महिलाहरूमा सफल गर्भधारण गर्ने सम्भावना बढी हुन्छ।

आईभीएफ प्रक्रिया सामान्यतया ४३ वर्षभन्दा बढी उमेरका महिलाहरूको लागि सिफारिस गरिएको छैन।

किनभने त्यो उमेरपछि सफल गर्भधारणको सम्भावना निकै कम मानिन्छ।

तर त्योभन्दा बढी उमेरका दम्पतीको सन्तान चाहने इच्छालाई पनि सम्मान गरिनुपर्ने कतिपय तर्क गर्छन्।

न्याश्नल इन्स्टिच्यूट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआईसीई) को फर्टिलिटी गाइडलाइनअनुसार ४३ वर्षभन्दा कम उमेरका महिलालाई आईभीएफ दिनुपर्छ।

सन् २०१९ मा बेलायतमा सफल आईभीएफ प्रक्रियाको प्रतिशत अर्थात् जीवित जन्महरू यस प्रकार छन्:

३५ वर्षभन्दा कम उमेरका महिलाहरूको लागि, ३५ प्रतिशत

३५ देखि ३७ वर्ष उमेर समूहका महिलाका लागि २५ प्रतिशत

३८ देखि ३९ वर्ष उमेर समूहका महिलामा १९ प्रतिशत

४० देखि ४२ वर्ष उमेर समूहका महिलामा ११ प्रतिशत

४३ देखि ४४ वर्ष उमेर समूहका महिलामा पाँच प्रतिशत

४४ वर्षभन्दा माथिका चार प्रतिशत महिला

यो आँकडा आफ्नै अण्डा र साथीको शुक्राणु प्रयोग गर्ने महिलामा भ्रूण स्थानान्तरणको दरमा आधारित थियो।

साथै स्वस्थ वजन कायम राख्नुका साथै उपचारको क्रममा रक्सी, धूम्रपान र क्याफिनबाट टाढा रहनुले आईभीएफको माध्यमबाट बच्चा जन्माउने सम्भावना बढाउन सक्छ।

नेपालमा भने आईभीएफ गरेर गर्भधारण गर्ने सफलता दर ७० प्रतिशतसम्म रहे पनि घरमा स्वस्थ बच्चा लिएर ५० प्रतिशत दम्पती जाने गरेको आफ्नो अनुभव रहेको डाक्टर नूतनले बताइन्।

आईभीएफको जोखिम

आईभीएफले सधैँ काम नगर्न सक्छ। अर्थात् गर्भावस्थामा भ्रूण परिपक्व नहुन सक्छ।

यस्तो अवस्थामा आमाको शारीरिक तन्दुरुस्ती त्यति नै महत्त्वपूर्ण हुन्छ।

यस कारण आईभीएफ दिइएकाहरूलाई यस प्रक्रियाको क्रममा परामर्श दिइन्छ।

आईभीएफ प्रक्रियाको क्रममा दिइएका औषधिहरूको केही साइड इफेक्टहरू हुन्छन्। टाउको दुख्ने समस्या पनि हुन सक्छ।

फेरि, यो विधिमा प्रायः एकभन्दा बढी बच्चा अर्थात् जुम्ल्याहा वा तीन बच्चा जन्माउने सम्भावना हुन्छ।

यसको कारणबारे बताउँदै डाक्टर शर्मा भन्छिन्, “भ्रूण (महिलाको गर्भमा) हाल्ने बेलामा एउटा हाल्यो भने सक्सेस रेट (सफलता दर) २०/२५ प्रतिशत हुन्छ, दुई वटा हाल्यो ५० प्रतिशत सम्म पुग्छ र तीन वटा हाल्यो भने ७० प्रतिशत सम्म हुन्छ। त्यही भएर हामीले दम्पतीलाई सोध्छौँ।”

आफूहरूले प्रक्रिया बुझाएपछि सेवाग्राहीको सल्लाह अनुसार भ्रूण कति वटा हाल्ने भन्ने निर्णय गरिने र कहिलेकाहीँ तीन वटा भ्रूण हाल्दा तीन वटा सम्म सन्तान जन्मिने उनले बताइन्।

“मैले हेरेका प्राय दम्पतीले बरु जुम्ल्याहा भए हुन्छ तर सक्सेस रेट धेरै होस् भन्नुहुन्छ,” उनले भनिन्।

प्रकाशित: २०८१ साउन २९ गते मङ्गलबार ०७:५६
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना