काठमाडौँ- काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ।
सिपाही रहेकी ठगुन्नालाई सहायक हवल्दारमा बढुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे।
२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर सिपाही बनेकी निरुताले उत्कृष्ट खेल प्रदर्शन गर्दै बढुवा पाएकी हुन्। त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबमा आबद्ध थिइन्।
यसअघि भलिवल खेलाडी सरस्वती चौधरीलाई सशस्त्रले प्रहरी जवानबाट सहायक हवल्दार पदमा पदोन्नति गरेको थियो।
यस्तै ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ।
सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरे। उनीहरूलाई नगद प्रदान गरिएको थियो।
