पोखरा- बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौँ पोखरा स्पोर्ट्स अवार्डमा मर्सानीलाई लाइफटाइम अवार्ड प्रदान गरेको हो। प्रशिक्षक भएर खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै मर्सानीलाई लाइफटाइम अवार्ड प्रदान गरिएको हो।
विक्रम सम्वत् २०१९ साल असार १३ गते बुवा स्व. दयाप्रसाद मर्सानी र आमा शारदादेवी मर्सानीको ज्येष्ठ सुपुत्रका रुपमा तनहुँको बन्दीपुरमा जन्मिएका मर्सानीले ३५ वर्ष बक्सिङको विकासका लागि योगदान गरेका छन्।
आफू १५ वर्ष हुँदादेखि बक्सिङसँग जोडिएका मर्सानी हालसम्म बक्सिङसँगै छन्। मर्सानीलाई बक्सिङसँग जोड्न जागिरे बुवाको प्रेरणा छ। बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा त्यतिबेला ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेलेका थिए। त्यो समयमा पोखराकै आश बहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भएको थियो।
मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ सालदेखि हो। भैरहवामा भउको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिताका लागि उनी गण्डकी अञ्चलबाट छनौट भएका थिए। पहिलो सहभागितामै काँस्य जिते पनि। त्यसपछि २०३८ सालमा काठमाडौँमा बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए। वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते। २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे।
‘२०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरेँ। लगत्तै भारत प्रशिक्षकको प्रशिक्षण लिन भारत पुगेँ,’ खेलाडीबाट प्रशिक्षक बनेको क्षण सम्झिएका मर्सानीले भने, ‘दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरें। बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकाश पाएँ।’ सहायक प्रशिक्षक हुँदाताका उनी गण्डकीका विभिन्न जिल्लामा बक्सिङ खेलाडी खोज्दै पुगेका थिए।
आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए। २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए। २०५७ मा यू-१९ साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत मर्सानीले अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तानको भ्रमण गरेका छन्।
यसअघि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराई लाइफटाइम अवार्डबाटबाट सम्मानित भइसकेका छन्। पोखरा सभागृह हलमा आयोजना भएको खेलकुद पत्रकार मञ्च गण्डकीको सातौँ पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरि चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिएको हो।
वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड क्रिकेटका १९ वर्षीय खेलाडी सुवास भण्डारीले पाए। आर्चरीका किशोरकुमार गुरुङ वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित हुँदा करण केसी वर्ष खेलाडी बने। वर्ष खेल पत्रकार सागरराज तिमिल्सिना बनेका छन्। सर्वोत्कृष्ट महिला खेलाडीमा फुटबलकी सावित्रा भण्डारीले अवार्ड पाइन्।
त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई कीर्तिशेष सम्मान अर्पण गरियो। प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

