काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्रीहरूसँग ब्रिफिङ लिउका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार दिउँसो छलफल गरेपछि कांग्रेसका सभापति देउवाले मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाएर ब्रिफिङ लिएका हुन्। मन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, योजना र समन्वयलगायतका विषयमा छलफल गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न देउवा पुगेका थिए। भेटमा राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो,’ देउवासँगको भेटबारे फेसबुकमा जानकारी दिँदै शनिबार दिउँसो ओलीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए।’
शेरबहादुर देउवाले ओलीसँग भेटेलगत्तै कांग्रेसका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाएका थिए। शनिबार साँझ ५ बजेटबाट सुरु भएको कार्यक्रम राती १० बजेसम्म चलेको थियो। मन्त्रालयका कामकाज र समस्याका विषयमा सभापति देउवालगायतलाई मन्त्रीहरूले ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए।
कांग्रेसबाट बनेका १० मन्त्री र दुई राज्यमन्त्रीहरूले एक-एक गरी पार्टीका शीर्ष पदाधिकारीहरूलाई ब्रिफिङ गरेका थिए। मन्त्रीहरूको ब्रिफिङ सुन्नेमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्री गगन थापा पनि थिए।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री छन्। कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु देउवा, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री छन्। साथै रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्री छन्।
कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसहित ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट कांग्रेसका १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए।
ओली सरकारमा कांग्रेसका दुई राज्यमन्त्रीसहित १२, एमालेका प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीका २, लोसपाका १ र नागरिक उन्मुक्ति पार्टीका एक राज्यमन्त्री छन्।
मन्त्रीहरूका कामका विषयमा यसअघि कांग्रेसमहामन्त्री गगन थापाले संसदमा नै प्रश्न उठाएका थिए। थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली संलग्न भएको भनिएको आरोपहरूमाथि पनि छानबिन गर्नुपर्ने बताउँदै आएका छन्।
महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए। ‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ। भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने र उद्घाटन नगर्ने ब्रत लिइदिनुस्,’ थापाले सदनमै भनेका थिए।


