काठमाडौँ- सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ मा अवस्थित थामेबजारमा बाढी आएपछि बेपत्ता बनेका व्यक्ति आफ्नै घरमा भेटिएका छन्।
हिमताल विस्फोट भएर शुक्रबार दिउँसो भीषण बाढी आएपछि अरुलाई सुरक्षित स्थानमा सार्न सकिएको भएपनि ङिमा नुरु शेर्पा भने सम्पर्कविहीन बनेका थिए।
ङिमा सम्पर्कमा आएसँगै धनको ठूलो क्षति गरेको बाढीले मानवीय क्षति नपुर्याएको पुष्टि भएको हो। ‘खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेमा आएको बाढीको कारण बेपत्ता भएका ङिमा नुरू शेर्पा आज सम्पर्कमा आएका छन्,’ गाउँपालिकाले फेसबुक पेजमा लेखेको छ।
शुक्रबार साँझ प्रहरीको सम्पर्कमा आएका भनिएका ङिमा बोल्न नसक्ने हुनुका साथै कान पनि कम सुन्छन्। कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालका अनुसार उनी घरमा नै भेटिएका हुन्।
‘एक्लै घरमा तीन दिन बिताउँदा उनी भोकै, तिर्खै थिए कि केही बनाएर खाए भन्नेबारे थाहा भएन,’ दाहालले भने।
थामेमा बाढीले विद्यालयसहित १४ घर पूर्ण रूपमा बगाएको छ भने गाउँलाई बगर बनाएको छ।
गाउँपालिकाको वडा नम्बर ३ टोकटोकका तीन घर पहिरोमा परी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अरू चार घर पहिरोको उच्च जोखिममा छन्।
टोकटोक-नाम्चे पदमार्गसमेत पहिरोले क्षति पुर्याएको छ।


