ललितपुर- ललितपुरको सानेपामा एक महिलाले आफूमाथि तीन जनाले सामूहिक बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा ती महिलाले जाहेरी दर्ता गराएकी हुन्।
असार ३१ गते रौतहट घर भएकी एक महिला सानेपास्थित कोठामा पुगेकी थिइन्। प्रायजसो रौतहट नै बस्ने ती महिलाका श्रीमान् चाहिँ काठमाडौँमा डेरा गरी बस्दै आएका थिए। सोही डेरामा उनी पुगेकी थिइन्। उनी डेरामा पुग्दा उनका देवर कोठामा थिए भने श्रीमान् काममा थिए।
ती महिला डेरामा पुगेपछि थप दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कार प्रयास भएको पीडितको आरोप छ। बलात्कार प्रयास गर्नेलाई देवरले समेत सघाएको आरोप छ।
रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका अन्दाजी २२ वर्षका बिपुल यादवसमेत तीन जना व्यक्तिले आफूमाथि बलात्कारको प्रयास गरेको पीडितको दाबी छ।
बलात्कारको प्रयास भएका बेला प्रतिकार गर्दा शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको उनले बताएकी छिन्। साउन ६ गते नै पीडितले उजुरी दिएको भएपनि प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गरेको छैन।
