तेलअभिभ- इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ।
बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान मृत घोषणा गरिएको थियो।
गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ।
फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ।
यसै क्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाब दिएको छ।
इजिप्ट, कतार अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन्।
मङ्गलबार बरामद गरिएका छ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए जुन आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो।
प्यालेस्टिनी इलमिक कट्टरपन्थी समूहले मुन्दर, उनकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए।
परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिएभने उनका छोरा आक्रमणकै दिन मारिएका थिए।
इजरायली आधिकारिक तथ्याङ्क अनुसार हमासको आक्रमणमा अधिकांस नागरिक सहित इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो।
बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक रहेको र तीमध्येका ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ।
इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाएको छ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मङ्गलबार इजिप्टतर्फ प्रस्थान गरेका छन्।
सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जाने कार्यक्रम छ। कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ।
इजरायली किबुट्ज समुदायले गाजामा बन्धक बनाइएका ७९ वर्षीय अव्राहम मुन्दरको मृत्यु भएको घोषणा गरेसँगै उनी तेल अभिभबाट इजिप्टतर्फ लागेका छन्।
मुन्दरले महिनौँसम्म शारीरिक र मानसिक यातना भोगेको दावी गर्दै किब्बुट्ज समुदायले उनको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएको छ। उनको अपहरणमा सम्लग्न हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग उनको ग्रीष्मकालीन दरबार रहेको सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा कुराकानी गर्न अमेरिकी उच्च कूटनीतिज्ञ इजिप्ट गएका हुन्।
अल–सिसीसँगको भेटपछि उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
दोहा वार्तामा संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो।
ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताएका छन्।
‘यस क्षेत्रको शान्तिका लागि जतिसक्दो छिटो वार्ता हुनु र सम्झौता हुनु आवश्यक छ,’ ब्लिन्केनले सोमबार तेल अभिभमा भने, ‘संयुक्त राज्य अमेरिका यस कामका लागि गम्भीर र प्रतिवद्ध रहेको छ।’
ब्लिन्केनले सोमबार युद्धविराम प्रस्ताव ‘अन्तिम मौका’ हुन सक्ने बताएका थिए।
उनले हमासले पछिल्लो प्रस्तावमा गरिएको संशोधनलाई सार्वजनिक रूपमा अस्वीकार गरेको र इजरायल यसै हप्ताको अन्त्यमा कायरोमा हुने बताएको नयाँ वार्तामा एक प्रतिनिधिमण्डल पठाउन तयार रहेको बताएका छन्।
यद्यपि, हालैका वार्तामा इजरायलले हमासबाट कब्जा गरेको इजिप्टसँगको गाजा सीमा नियन्त्रणमा जोड दिनेलगायत नयाँ शर्तहरू उठाएको रिपोर्टहरू आएका छन्। हमासले इजरायलले एकपछि अर्को शर्त थप्दै गएको भन्दै यसरी वार्ता अघि बढ्न नसक्ने बताएको छ।


