काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी, लिभरपुल र टोटेनहम हट्सपरले जित निकालेका छन्। सिटीको इतिहाद रंगशालामा घरेलु टिमले लिड्स युनाइटेडलाई २-१ गोलअन्तरले हराएको हो।
सिटीको जितमा इल्के गुन्डोगनले दुबै गोल गरेका थिए। खेलको १९ औँ मिनेटमा रियाद महरेजको पासमा गोल गरेका गुन्डोगनले दोस्रो गोल पनि महरेजकै पासमा २७ औँ मिनेटमा गरेका थिए। तर खेलको ८४ औं मिनेटमा पेनाल्टीको अवसरमा चुक्दा गुन्डोगन ह्याट्रिकको अवसर खेर गएको थियो।
पहिलो हाफमा दुई गोलले पछि परेको लिड्सका लागि सान्त्वना गोल ८५ औँ मिनेटमा रोड्रिगोले गरेका थिए।
गएरातिकै अर्को खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० ले हराएको छ। एनफिल्ड रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन भर्जिल भान डाइकको पासमा मोहम्मद सलाहले १३ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै, टोटेनहमले क्रिस्टल प्यालेसलाई र वुल्भ्सले एस्टोन भिल्लालाई पनि समान १-० गोलअन्तरले हराएका छन्। चेल्सीले बर्नेमाउथलाई भने ३-१ गोलअन्तरले हराएको छ।
यससँगै ३४ खेलबाट ८२ अंक जोडेर म्यानचेस्टर सिटी तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानको आर्सनलको ७८ अंक छ। ६५ अंक भएको न्युक्यासल तेस्रो स्थानमा, ६३ अंक जोडेको म्यानचेस्टर युनाइटेड चौथो तथा ६२ अंक जोडेको लिभरपुल पाँचौँ स्थानमा छन्।
छैटौँ स्थानमा ५७ अंक जोडेको टोटेनहम हट्स्पर छ।
