काठमाडौ– व्यवसायी बसन्त चौधरीले पछिल्ला दिनमा चुलिँदै गएको सुनको मूल्यलाई मियो बनाएर यसको संकेत र कारणबारे सटिक विश्लेषण गरेका छन्। सामाजिक सञ्जाल एक्समा यसबारे आफ्नो धारणा राख्दै उनले अर्थतन्त्रका अरु महत्वपूर्ण केही आयामहरुमा देखिएको फरक अवस्थाका कारण पनि सुनप्रति आकर्षण बढेको जिकिर उनको छ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्-
आज नेपालमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। यो के को सूचक हो? यसले देशको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली लगानीकर्ताको मानसिकताबारे गहिरो चिन्तन गर्नुपर्ने आवश्यकता देखाएको छ।
यस अप्रत्याशित मूल्य वृद्धिको पछाडि केही प्रमुख कारणहरू देखिएका छन्। सुनलाई सदियौंदेखि आवश्यक पर्दा झट्ट उपलब्ध हुने सुरक्षित लगानीको रूपमा लिइन्छ। पूँजी बजारको उतार-चढावले पनि आम मानिसहरूलाई सुनप्रति आकर्षित गरिरहेको देखिन्छ। निक्षेपमा कम ब्याज दर र सहकारी वित्तीय संस्थाहरूमा भएको आर्थिक अपचलनले बैंकिङ प्रणालीप्रति जनताको विश्वास घटाएको छ। यो बढ्दो अविश्वासले पनि सुनलाई सुरक्षित लगानीको रूपमा लिने प्रवृत्ति बढेको देखिन्छ। साथै, जग्गा खरीदका लागि वैध आय स्रोत प्रमाणित गर्नुपर्ने बाध्यताले पनि जग्गा लगानीमा मानिसको रुचि घटेको छ, जसले गर्दा सुनको मागमा अत्याधिक वृद्धि भई मूल्य आकासिएको अनुमान गर्न सकिन्छ। नयाँ सरकारले कार्यभार सम्हालेपछि शेयर बजारमा ‘बुलिश ट्रेण्ड’ देखिए तापनि, यो वृद्धिलाई दीगो मान्न सकिन्छ कि सकिन्न भन्नेमा पनि प्रश्नवाचक चिन्हहरू उभिएका छन्। हाम्रो वित्तीय प्रणालीको दीर्घकालीन स्थिरताको विषयमा आम मानिस पूर्ण रूपले विश्वस्त छैनन्। वर्तमान सरकारले सार्वजनिक गरेका आर्थिक सूचनाहरूले कतै सत्यतालाई ढाकछोप गरिरहेको त छैन भन्ने चिन्ता पनि उब्जिएको छ। सुनको बढ्दो मूल्य, शेयर बजारमा देखिएको उछाल, र बैंकिङ प्रणालीप्रति घट्दो विश्वासले वर्तमान आर्थिक परिदृश्यको जटिल चित्र प्रस्तुत गर्दछ।
अबको प्रमुख आवश्यकता भनेको देशमा लगानी र वित्तीय सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भै गहिरो छलफल गर्नु हो, र सरकारले पनि आम जनतालाई वस्तुपरक सूचना प्रवाह गरेर जनविश्वास जित्नु हो।
https://x.com/basant_cg/status/1826267951223505326


