चितवन- चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको बसमाथि ढुंगा खसेको छ। ढुंगाले लागेपछि बस अनियन्त्रित भएर पल्टिएको छ।
शुक्रबार दिउँसो १ः५० बजेतिर भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको थियो।
ढुंगाले लागेपछि बस पल्टिँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
‘अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो,’ उनले भने, ‘बसमा सवार २५ यात्री घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको छ।’


