२०८३ कार्तिक ११ गते मङ्गलबार

फुटबल छोडेर फुटबलमै पुगेका ओलावाले

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, बैशाख २४
Olawale afiz machhinfra club3
ओलावाले। फाइल तस्बिर

कोठाको भित्तामा टाँसिएको टेलिभिजनमा थ्रीस्टार र एनआरटीबीचको खेल चलिरहेको थियो। तर त्यसमा आवाज थिएन, ‘म्युटेड’ खेल अघि बढिरहेको थियो। त्यही खेलमा गडिएका उनका नजरले बाहिरका दृश्यलाई खास वास्ता गरिरहेका थिएनन्। कोठाको भित्तामा एउटा र्‍याक टाँसिएको थियो। यस्तै, भित्तामै दुई स्थान स्केचहरू पनि टाँसिएका थिए।

तीन वटा मेच, एउटा टेबल, ‘मिनरल वाटर’का केही थान बोतल, एउटा लगेज कोठामा राखिएको थियो।

मैले त्यो दृष्य देख्नुअघि उनी मलाई भेट्न होटेलको रिसेप्सनसम्म आएका थिए। सोधे, ‘तपाईं हो?’

मैले ‘हो’ भन्ने इसारासहित टाउको हल्लाएँ।

उनले हात अघि बढाएर भने, ‘हेल्लो!’

‘हेल्लो!’

मछिन्द्र फुटबल क्लबका स्ट्राइकर ओलावालाई मैले आफ्नो परिचय दिएँ। ‘अनिल (श्रेष्ठ, मछिन्द्र फुटबल क्लबका व्यवस्थापक)दाइलाई फोन गरेर तपाईंसँग समय लिइदिन भनेको थिएँ। सिधै होटेल गएर भेट्नु भन्नुभयो। अनि तपाईंलाई नभनी आउनुपर्‍यो। खासमा फोन नम्बर नभएर हो,’ हात मिलाइसकेर मैले हाकाहाकी यति कुरा भनिहालेँ।

‘ठीक छ।’ यति भनेर उनी हाँसे। त्यसपछि केही नसोधी कोठातर्फ डोहोर्‍याए। सोचिरहेको थिएँ बाहिर क्याफेतिरै बसौँ, तर फेरि सोचेँ, गफ गर्न कोठामै सजिलो होला।

अंग्रेजी भाषामा उनले आग्रह गरे, ‘प्लिज टेक अ सिट।’ आग्रहसँगै उनले प्रश्न पनि गरे, ‘कता बस्न ठिक ठान्नुहुन्छ?’ मैले यताउति हेरेँ। एउटा मेच तानेर उनी नजिक पुर्‍याएर भनेँ, ‘यहाँ ठीक छ।’

‘ओके’ ओलावालेको प्रतिक्रिया आयो।

पछिल्ला केही महिनादेखि उनी यही कोठामा आफ्ना दिन बिताइरहेका छन्। अभ्यास र खेलबाहेक उनको धेरैजसो समय त्रिपुरेश्वरको यही कोठामा बितिरहेको छ। म एकपटक सबै चिजलाई नियाल्छु। अनि उनलाई पनि। उनी सिरकमा ‘वान लेग इन, वान लेग आउट’ गरेर सजिलो गरी बस्छन्।

000

‘मलाई तपाईंबारे जान्नु छ। तपाईंको खेल त सबैले देखेकै छन्। तर कथा पनि त जान्नु पर्‍यो नि!’ मैले यति कुरालाई केही लामो बनाएर भने, ‘यहाँ, आउनुभन्दा अघि नाइजेरियादेखिका कथा नै मलाई भन्नुहोला है त?’

‘हुन्छ, सोध्नुहोस् न। के-के जान्न चहानुहुन्छ,’ मन्द मुस्कानका साथ उनको मिजासिलो लवज मेरा कानमा ठोक्कियो।

‘तपाईंलाई नेपालमा धेरैले ओलावाले भनेर चिन्छन्, कत्तिको याद गर्नुभएको छ?’

‘अँ, त्यो मेरो बीचको नाम हो। मेरो खास नाम चाहिँ अफिज हो। ओलादिपो अन्तिम नाम (थर) हो, जस्तो तपाईंको सापकोटा छ नि, त्यस्तै। अनि पूरा नाम चाहिँ- अफिज ओलावाले ओलादिपो।’

‘म पहिले धेरै राम्रो खेल्थेँ। सौखिन पनि थिएँ। युरोपमा खेल्नको लागि ज्यादै महत्वकांक्षी थिएँ तर खेल्न पाइनँ। चोट लाग्नुअघि मैले ठूलो अफरको धेरै प्रतीक्षा गरेँ। त्यो नपाएपछि मेरो मन सँधै दुखिरहन्छ।’

नाइजेरियाका यी खेलाडी २८ वर्षअघि राजधानी अबुजादेखि केही सय किलोमिटर टाढा जोस सहरमा जन्मिए। उनी जुन समाजमा जन्मिए, त्योभन्दा घरको वातावरण बिल्कुलै फरक थियो। ‘म हुर्किँदा मेरो सहरमा प्लाटु भाषा बोलिन्थ्यो। तर, मेरो घरमा त्यो भाषा बोलिँदैन थियो,’ उनले बाल्यकाल सम्झन थाले। प्लाटु क्षेत्र नाइजेरियाको सबैभन्दा ठूलो जातीय स्वायत्त प्रान्त हो। प्लाटू भाषा विषेशगरी चार प्रान्तमा बोलिन्छ। त्यहाँ धेरैजसो बिरोम समुदायका मानिसहरु बस्छन्।

‘बिरोमको बाहुल्यता भएको समाजमा जन्मिए पनि म योरुबा परिवारको हो। मेरो भाषा पनि योरुबा नै हो,’ ओलावाले खुल्दै गए, ‘नाइजेरियामा ठूलोमध्येको एक जातीय समुदाय हो- योरुबा। यो नाइजेरियाको दक्षिणपूर्वी भेगमा पर्छ।’ तर उनी दक्षिणपूर्वी भेगतिरका बासिन्दा भने होइनन्। उनको परिवार नाइजेरियाको मध्यभागतिर बस्छ। तुलनात्मक रुपमा राम्रा अवसर पाइने भएकाले बिरोम बाहुल्य बस्तीमा योरुबाभाषी ओलावालेको परिवार पुगेको थियो।

‘जोस, यो ठूलो सहर त होइन। तर त्यतिबेला मैत्रीपूर्ण सहर थियो,’ उनले भने, ‘त्यहाँ मेरो बाबा, मम र तीन अबुरो बस्थ्यौँ। म चाहिँ एग्बो भएँ।’

मैले फ्याट्ट सोधिहालेँ- अबुरो, एग्बो?

‘भाइबहिनीलाई हाम्रो भाषामा अबुरो भन्छन क्या!,’ उनी हाँस्दै सुनाउँछन्, ‘भाइबहिनीका लागि म एग्बो भएँ।’ उनले यति भनेपछि मैले बुझिहालेँ, उनी चारजना मध्येका जेठा रहेछन्। बाँकी उनले भनेर सजिलो बनाइदिए, ‘एउटा भाइ छ, अनि दुई बहिनी। हामी आमालाई ‘मम’ भनेर बोलाउँछौं।’

समुदायमा भाषाको विविधता त थियो नै ‘फ्रेन्ड्ली’ पनि उत्तिकै। उनले त्यहीँ प्राथमिक शिक्षा लिए। हुर्के, बढे। उनले पढेको विद्यालय सानो र औषत थियो। त्यहाँ धनीहरुका छोराछोरी पढ्दैनथे। उनको विद्यालय घरबाट पाँच मिनेट मात्र टाढा थियो। अर्को गल्लीमा। हिँडेरै पुगिहाल्थे। त्यहीँबाट हो उनको खुट्टामा फुटबल ठोकिन सुरु भएको। त्यही मैदानबाट ओलावालेको खेलाडी जीवनको विस्मिल्लाह भयो।

‘म बच्चा बेलादेखि नै फुटबलमा रमाउन थालेँ। फुटबलकै लागि मैले कक्षा ‘बंक’ गर्न थालेँ। मेरो विद्यालयमा फुटबल खेल्ने ठाउँ थिएन। त्यसैले विद्यालयको सर्ट ब्रेकमा हामी खेल्ने योजना बनाउँथ्यौँ। साथीभाई मिलेर भाग्थ्यौँ। १५–२० मिनेट टाढा एक मैदान थियो, ह्यान्डबल खेल्नको लागि तयार गरिएको। तर त्यो कोर्ट सिमेन्टेड थियो। विद्यालयको समयमा त्यहाँ कोही हुँदैन थिए। त्यहीँ खेल्थ्यौँ। एकपटक लड्यो भने गहिरो चोट लाग्ने सम्भावना हुन्थ्यो, त्यसैले हामी जोगिएर खेल्थ्यौं,’ उनी सम्झन्छन्, ‘हामी मानिस नभएको मौका पारेर त्यहाँ खेल्थ्यौँ। गयो, विद्यालयको लुगा खोल्यो, बच्चाले भित्रबाट लगाउने लुगा हुन्छ नि त्यस्तै लगायो–खेल्यो।’

‘त्यसो भए त त्यो नै फुटबलको पहिलो स्मृति थियो हैन्त?’ मैले जिज्ञासा राखेँ।

उनको जवाफ थियो- हो।

बेडमा बसिरहेका उनले आफ्नो बसाईलाई अझै सहज बनाए। सिरानी हातमा लिएर भन्न थाले, ‘म गल्लीका केटाकेटीसँग मिनिपोस्ट खेल्थेँ। हामी त्यसलाई मंकीपोस्ट भन्थ्यौँ। ती दिनहरुमा म अफसाइड बस्न रुचाउँथे। किनभने त्यसरी बस्दा गोल गर्न सजिलो हुन्थ्यो। मंकीपोस्टमा अफसाइड भन्ने नै हुँदैन थियो। त्यही दिनबाट म स्ट्राइकर भएजस्तो लाग्छ। म पछि पछि नै स्ट्राइकर बन्छु भन्ने लाग्थ्यो।’

जब उनले गोल गर्थे, सबै रमाउँथे। हेर्ने समेत मख्ख पर्थे। त्यसपछि उनलाई गोलको अर्थ र महत्व थाहा भयो। धेरै गोल गर्‍यो भने सबैले मन पराउँदा रहेछन् भन्ने उनलाई लाग्न थाल्यो।

000

एक दिन उनको त्यो दिनचर्यामा जे नहोस् भन्ठानेका थिए, त्यही भयो। फुटबल खेल्न जाने दिनमा राउफ (बुवा) विद्यालय नआउन् भन्ने चाहन्थे।  एकदिन विद्यालय बंक गरेर खेल्न गएको बेलामा राउफ ओलादिपो उनको विद्यालय पुगेछन्। बुवा विद्यालय जाँदा उनी भेटिएनन्। भागेर फुटबल खेल्न गइसकेका थिए।

त्यो दिन घर फर्किएपछि राउफले रिसाउँदै ओलावालेलाई सोधे, ‘म तेरो विद्यालय गएको थिएँ। कहाँ गएको थिस्?’

अफ्रिकाको त्यो सहरमा धेरै अनुशासित विद्यार्थी हुन्थे। त्यसरी भाग्दैनथे। बुबाआमालाई लाग्थ्यो आफिज निकै अनुशासित छन्। तर त्यो दिन राउफ र मेरियम (आमा) को छोराप्रतिको विश्वास भंग हुनेवाला थियो।

छिनभरको सन्नाटापछि उनले काँपेको स्वरमा जवाफ दिए, ‘म फुटबल खेल्न गएको थिएँ।’

त्यो दिन ओलावालेले खुब पिटाई खाए। बुवाले बेल्ट खोलेर उनलाई पिटे। उनका बुवा निकै रिसाहा थिए। उनलाई धरै रिस उठ्यो भने बेल्टले कुटेर सुम्ला बसाइदिन्थे। त्यो दिन त्यही भयो। ओलावालेले त्यो घटना अहिलेसम्म बिर्सिएका छैनन्।

‘घरबाट धेरै टाढा पुगेपछि मलाई लाग्यो स्कुल फर्किनु मेरो गल्ती भयो। मैले सायद मेरो जिवनको लागि सही बाटो छानिनँ।’

त्यो घटनापछि उनी विद्यालयबाट भागेर कहिल्यै फुटबल खेल्न गएनन्। साथीहरुले कर गरे, मरिहत्ते गरे। अहँ! उनको मन परिवर्तन भएन। खासमा उनी त्यसरी पक्रिइन नै चाहँदैनथे। पक्रिए अनि त्यो हर्कत नै छोडिदिए।
000
नाइजेरियामा ६ वर्षको प्राइमरी विद्यालय हुन्छ। त्यहीबीचमा उनमा फुलबलको शोख जागिसकेको थियो। बजारबाट ल्याएको प्लास्टिकको बल घर वरिपरी नै खेल्न थाले।

‘रबरले बनाएको बल हुन्थ्यो। बलियो खालको। त्यो खेल्थ्यौँ। कहिलेकाहीँ प्लास्टिक, पुराना कपडालाई बेर्दाबेर्दा गरेर गोलो बनाएर खेल्थ्यौँ। अलि ठूलो हुँदै गएपछि आसपासमा कसैसँग बल छ भनेर सोधीखोजी गरेर खेल्थ्यौँ,’ उनी बाल्यकाल सम्झन्छन्, ‘ती दिनमा म फुटबल हेर्थेँ। ब्राजिलको फ्यान त होइन। तर, ब्रजिलियन रोनाल्डो निकै मनपर्दथ्यो। उनको फुर्के हेयरस्टाइल मलाई अझैसम्म राम्रो लाग्छ। तर पछि चाहिँ मलाई आर्सनलका स्ट्राइकर थियरी हेनरी मन पर्न थाल्यो। म उनको खेल धेरै हेर्थेँ।’

घरमा खासै काम गर्नु पर्दैनथ्यो, ओलवालेले। राउफ सिभिल इन्जिनियर थिए। मेरियम चाहिँ लुगाकपडा सिलाउँथिन्। राम्रै आम्दानी हुन्थ्यो। एउटा परिवार सामान्य रुपले चलिरहेको थियो। त्यसैबीच सन् २००१ तिर उनी बसेको सहर क्रिस्चियन र मुस्लिमको दंगामा फस्यो। १० दिन लामो दंगामा हजारभन्दा धेरै मानिस मारिए। धेरैले सहर छोड्न थोले। अनि राउफले निर्णय गरे, अबुजादेखि ८०० किमी पश्चिम सहर इलोरिनमा बसाईं सर्ने। त्यो क्वारा प्रान्तमा पर्छ। प्राइमरी विद्यालय सक्न लागेका ओलावालेलाई आफ्नो ठाउँ छोड्न पर्दा खुबै चित्त त दुख्यो। तर, असुरक्षामा बस्ने कुरा पनि त भएन। सहरको दक्षिणी र उत्तरी क्षेत्रमा दुई फरक जातिहरूको बाहुल्यता भएका कारण सहरमा सामान्य दंगा चलिरहन्थ्यो। त्यो समयमा भने धेरै घर, चर्च, पसल, मस्जिदमा आगो लगाइएको थियो।

‘जातीयताका नाममा दंगा भयो। यसले सहरमा ठूलो संकट निम्त्यायो र हजारौं मानिसहरु मारिए। यस्तो अवस्थामा असुरक्षाको कारण हामी इलोरिन जानु पर्ने भयो,’ ओलावाले सुनाउँछन्। त्यतिबेला ५० हजार जनाले सहर छोडेका थिए। धेरै संख्यामा पक्राउ परेका थिए।

०००

उनले इलोरिनमा भने निजी विद्यालय पढ्ने सुविधा पाए। ‘हामी त्यहाँको गरिब परिवारमा पदर्थ्यौँ। प्राथमिक विद्यालय सरकारी भए पनि माध्यमिक चाहिँ निजी विद्यालयमा पढ्ने सौभाग्य पाएको थिएँ,’ उनले भने। उनलाई विद्यालय जान आधा घण्टा लग्दथ्यो। बसमा जाने सुविधा त हुन्थ्यो तर उनी साथीसँग हिँडेरै जान्थे। माध्यमिक विद्यालयका दिनहरुमा उनको पढाइसमेत निकै राम्रो थियो। कक्षाकै पाँच/छ जना अब्बल विद्यार्थी मध्ये पर्थे उनी।

मेरियम ओलावालेलाई डाक्टर बनाउन चाहन्थिन्। राउफले पनि उनलाई सुरक्षित भविष्य भएको पेसा रोज्न भनेका थिए। उनीहरुले ओलावालेलाई भन्थे, ‘भविष्य राम्रो बनाउनु पर्छ। पढ्नुपर्छ।’ तर यही नै बन्नु पर्छ भनेर अभिवभाकवले उनलाई कहिल्यै भनेनन्। त्यसपछि उनको फुटबलको ढोका सामान्य रुपमा खुल्यो। यद्यपि फुटबलमा सुरक्षित भविष्य त यकिन हुँदैन थियो, उनी अलिअलि गर्दै फेरि फुटबलमा रमाउन थाले।

इलोरिन त्यही सहर हो, जहाँ ओलावाले व्यावसायिक रुपमा फुटबल खेल्न थाले। त्यहाँ उनले आफूभित्रको फुटबलरलाई चिने। पछिपछि उनी स्पोर्ट्स प्रो नामक एकेडेमीमा अनुबन्ध भए। उनी जन्मजात स्ट्राइकर थिए। तर, त्यसअघिसम्म पोसिजन वाइज फुटबल कहिल्यै खेलेकै थिएनन्।

एकेडेमीमा चाहिँ पोजिसनवाईज खेल्न सिकाइयो। पहिले आफिजले राइट ब्याकमा खेले। राइट ब्याकबाट राइट विंगमा खेल्न थाले। प्रशिक्षक जर्जले एकदिन उनलाई भने–तिमी स्ट्राइकर खेल। किनभने उनको स्पिड गज्जबको थियो। त्योबेला जर्जले नै उनलाई खेल्नको लागि प्रेरणा दिन्थे।

यो सेकेन्डरी लेभल पढ्दा ताकाको कुरा हो। उनी कसैलाई प्रेम गर्थे वा मन पराउँथे। उनले थोरै कुरा कोट्याए तर प्रष्ट भनेनन्। ‘ग्रलफ्रेन्ड नै त होइन। त्यस्तै, स्कुले प्रेम हुन्छ नि! खुलेर प्रेम नगर्ने भित्रभित्रै कुरा गरेजस्तो लाग्ने, त्यस्तै थियो मेरो पनि,’ ओलावाले नाक खुम्च्याउँदै सुनाउँछन्। विद्यालय सकिएसँगै उनको त्यो भावना फिक्का हुँदै गयो।

फुटबलको सम्बन्ध त त्यस्तो कच्चा थिएन। त्यसैले यो टुटेन। क्वारा फुटबल एकेडेमीविरुद्ध खेल्दा उनी गोल गरिरहन्थे। क्वारा प्रदेशले १० देखि २० वर्षसम्मका युवामा फुटबल ट्लालेन्ट खोज्नको लागि स्थापना गरेको एकेडेमी हो-क्वारा। अझैसम्म पनि यसले राम्रा खेलाडी उत्पादन गरिरहेको छ। ‘त्यो एकेडेमीको टिमविरुद्ध मैले स्पोट्स प्रो क्लबबाट धेरै पटक खेलेको छु। क्वारा एकेडेमीसँग नाइजेरियन राष्ट्रिय टिमका पूर्व मूख्य प्रशिक्षक थिए,’ ओलावालेले भने।

नेदरल्यान्ड्स मूलका नाइजेरियन राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक क्लेमेन वेस्टरहोफले नाइजेरियालाई फिफा विश्वकपको दोस्रो चरणसम्म पुर्‍याएका थिए। तिनै प्रशिक्षक २००८ तिर क्वारा एकेडेमीमा थिए। खेलका दौरानमा क्लेमेन्टले अफिजलाई देखेका थिए।

क्लेमेन्टले एकदिन सोधे, ‘तिमी राम्रो खेल्दा रहेछौ। हाम्रो एकेडेमीमा आउन चाहन्छौ?’

ओलावालेले भने, ‘हुन्छ। यो त मेरो लागि गर्वको कुरा हो।’ किनभने क्वारामा राम्रो सुविधा थियो। त्यहाँ खेलेर व्यसायिक खेलाडी हुने अवसर पनि थियो। जब उनले त्यो एकेडेमीमा जोइन हुने अवसर पाए, त्यसपछि सोचे– यो मेरो जीवनको महत्वपूर्ण अवसर हो।

क्लेमेन्टले उनलाई क्वारामा छात्रवृत्तिमा मिलाइदिने भए।

उनले घरमा बुवालाई भने, ‘मैले क्वारामा छात्रवृत्ति पाएँ।’

त्यतिबेलै उनको विश्वविद्यालयमा भर्ना हुने समय भइसकेको थियो। एकेडेमीमा छात्रवृत्ति पाउनुअघि क्वारा स्टेट पोलिटेक्निक इन्स्टिच्युटमा पढ्ने सोचेका थिए। त्यहाँ भर्ना हुने दिन नजिकिँदै थियो फुटबलमा छात्रवृत्ति पाए।

उनी दोधारमा परे– सुरक्षित भविष्य रोज्ने कि खेलको जोखिम मोल्ने ? के रोज्ने, पढाई कि फुटबल?

‘म के गरौँ?’ उनले बुवालाई सोधे।

‘तिमीलाई तिम्रो मनले जे भन्छ त्यही गर,’ जवाफ पाए।

आमाबाट पनि त्यस्तै जवाफ पाए। अन्ततः उनी फुटबल एकेडेमी जाने भए। ‘मेरो त सौख नै प्रो फुटबलर हुने थियो। त्यसले मलाई आनन्द दिन्थ्यो,’ उनी सुनाउँछन्, ‘मैले खास फुटबल त्यहाँ सिकेँ – निखारिएँ। व्यवसायिक फुटबल कसरी खेलिन्छ त्यहीँ त सिकेको हो।’

एकेडेमीमा उनी उमेर समूहको टिममा थिए। त्यहाँबाट छानिएका खेलाडी युरोप लगेर खेलाइन्थ्यो। उनी एकेडेमीमा खेल्न सुरु गरेको दुई वर्ष भइसकेको थियो। त्यो वर्ष पनि छनोट भयो। सिनियर टिमका खेलाडी युरोप गए तर उनले अवसर पाएनन्। ‘एकेडेमीको टिमले हल्यान्डका आयाक्स र अन्य केही स्थानीय टिमविरुद्ध खेले। त्यसमा छानिएका खेलाडी युरोपका क्लबमा अनुबन्ध भए पनि। त्यो टिममा गएका खेलाडीमा मन्डे सामुएल सबैभन्दा उत्कृष्ट रहे। सामुएलले पोर्चुगिज क्लब बेन्फिकामा खेल्ने अवसर पाए। क्वारा एकेडेमीबाट युरोप गएर खेलेका मानियल डेनिसले इंग्ल्यान्डको नटिङ्‌घम फरेस्टबाट खेलेका छन्। क्वारामा उनीहरु साथी थिए। यता तीन वर्ष एकेडेमीमा खेल्दा पनि अवसर नपाएपछि ओलावालेले निकै समय लिएर सोचे अनि फुटबल छोड्ने निर्णय गरे।

‘त्यो बेला फुटबलमा निमर्म बनिसकेको थिएँ। मैले आफ्नो चहाना मारेर अब पढ्नुपर्छ भन्ने योजना बनाएँ। त्यो योजना बनाउनु मेरो लागि सहज थिएन्। अनि मैले फुटबल छोडेँ। यो कुरा २०१० तिरको कुरा हो,’ यति भन्दै गर्दा उनको ओठ सुकेका थिए। पहिले जिब्रो निकालेर ओठलाई भिजाए अनि मन्द हाँसे।

यो कुरा सम्झिँदा आज पनि उनलाई ठूलो निश्वास लिनुपर्छ। यि कुरा सुनाएपछि उनले एकछिन समय लिए। फेरी बेडमा आफ्नो बसाईलाई केही परिवर्तन गरे।

अनि मलाई सोधे, ‘अरु के जान्न चहान्नु हुन्छ?’

मसँथग उतिबेला एउटै प्रश्न त थियो – त्यसपछि के भयो?

‘सन् २०१० को अन्तिमतिर होला, बुबाले आफैं खर्च गरेर मलाई पढ्नको लागि रुस पठाउनु भयो। म कम्युटर साइन्स पढ्न भनेर रुसतर्फ उडेँ। उत्साही पनि थिएँ। तर त्यहाँ मूख्य कोर्स गर्नको लागि पहिले मैले रसियन भाषा पढ्नुपर्ने भयो। कोर्ष पनि रसियन भाषामै पढ्नुपर्ने भयो। सुरुमा त्यस्तो भनिएको थिएन्। मैले प्रयास पनि गरेँ, तर गाह्रो लाग्यो। सकिनँ,’ जीवनमा आइपरेको अर्को समस्या उनले सुनाए।

रुसमा ओलावाले।

उनलाई घरमा दिने कुनै जवाफ बाँकी रहेन। के गर्ने भन्ने पनि थाहा थिएन। ‘घरबाट धेरै टाढा पुगेपछि मलाई लाग्यो विद्यालय फर्किनु मेरो गल्ती भयो। मैले सायद मेरो जीवनको लागि सही बाटो छानिनँ,’ उनी आफ्नो जीवनमा एकपछि अर्को मोड आएको सुनाउँछन्।

रुसमा हुँदा उनको सम्पर्कमा तोनी बासियो नाम गरेका फुटबलर साथीसँग भयो। ओलावालेले आफ्ना कुरा बासियालेलाई बताए। बसियो त्यतिबेला नेपालमा थिए। उनी मछिन्द्र क्लबमा गोलकिपर खेल्दा रहेछन्। बासियोसँग ओलावालेले एकेडेमीमा एकै टिमबाट खेलेका थिए।

बासियोले सोधे, ‘नेपालको बारेमा सुनेको छौं?’ ओलावालेले भारत मात्र सुनेका, जानेका थिए। बासियोलाई जवाफ दिए, ‘सुनेको छैन त।’

‘यहाँ आउ मैले राम्रो पैसा कमाइरहेको छु। स्ट्राइकरले त राम्रो गर्न सके अझै धेरै कमाउँछन्,’ बासियाले ओलावालेलाई सुझावसहित भने।

रुसको पढाइदेखि उनलाई दिक्क लागिसकेको थियो। अनि ‘हुन्छ’ भने। उनले फुटबलका लागि दोस्रो पटक पढाई छोडे। उतिबेला भर्खर १७ वर्षका थिए-ओलावाले। १७ वर्षमै उनले अब विद्यालय नफर्किने विचार गरे।

बासियोले ‘एजी कोलिन्स’ नाम गरेका एजेन्टलाई सम्पर्क गराएका थिए। ती एजेन्टले उनलाई भारत लैजान खोजेका थिए। खासमा ओलावालेलाई इन्डियाबारे खास चासो पनि थियो। उनको त्यो चासो चाहिँ हिन्दी फिल्मका कारण थियो।

कुरा कस्तो भने, उनले हिन्दी फिल्मबारे बच्चैमा थाहा पाएका थिए। उतिबेला घरमा टेलिभिजन हुनु, फिल्म हेर्नु उनको सहरमा हाइफाइ मानिने रहेछ। उनको घरमा टेलिभिजन र भिडियो क्यासेट बजाउने डिभिडी थियो। राउफ काम गर्ने संस्थामा इन्डियन साथी थिए। ती साथीले राउफलाई हिन्दी फिल्मको क्यासेट दिने गरेका थिए।

‘म बच्चा हुँदा धेरै हिन्दी फिल्म हेरेको थिएँ। त्यतिबेला ‘धमेन्द्र’, अमिताभ बच्चनका फिल्मका भिडियो क्यासेट पाइन्थे। बुबाले घरमा लैजानुहुन्थ्यो। अनि हामी हेर्थ्यौँ,’ उनले भने। उनलाई पटक-पटक हेरेको सोले फिल्म त अझै याद छ। ‘सोले हामीले धेरै पटक हेर्यौँ। तर हिन्दी आउँदैन थियो। म फिल्ममा ‘नहीँ’ भनेको मात्र बुझ्थेँ। दक्षिण एसियाबारे मैले जानेको यत्ति एउटा कुरा थियो,’ उनले नेपाल आउनुअघि दक्षिण एसियाबारेको जानेको कुरा सुनाए।

यता, एजी कोलिन्सले कही दिन पछि इन्डिया लैजाने भनेर नेपालमा ल्यान्ड गराए। ‘भोलिपल्ट उनी भारत जाने र त्यहीँबाट मलाई टिकट ल्याइदिने भनेर हिँडे। कुन क्लबमा जाने चाहिँ भनेनन्। नेपाल ट्रान्जिट मात्र भएको बताइएको थियो। त्यतिबेला ठमेलको एक होटेलमा बस्दा मलाई नेपाल अनौठो देश लागिरहेको थियो। सबै कुरा नौलो लाग्थ्यो, पराया लग्थ्यो,’ उनले सुरुमा नेपाल आउँदाको अनुभव सुनाए।

नाइजेरियाकै कोलिन्स फ्रेन्ड्स र मछिन्द्रका पूर्व खेलाडी रहेछन्। जसले ओलावले लगायतका खेलाडी नेपाल ल्याएर खेलाएका छन्। उनलाई पनि नेपालसम्म ल्याउनको लागि मछिन्द्र क्लबको निमन्त्रणा प्रयोग गरिएको थियो।

मछिन्द्र क्लबको टिम।

अन्ततः कोलिन्सले ‘इन्डियामा मिलेन अब नेपालमै खेल्नुपर्ने भयो भने’ यसरी ओलावाले नेपालमा फुटबल खेल्न लागे। ‘पहिलो पटक यहाँ खेल्नुपर्दा खुसी लागेको थिएन्। म यहाँको पूर्वाधारदेखि असन्तुष्ट थिएँ। १७ वर्षको युवा थिएँ र मलाई राम्रो मैदानमा खेल्न मनपथ्र्यो। अहिलेको तुलनामा त धेरै नै युवा थिएँ। तर यहाँ बस्न खासै गाह्रो भएन। साथीहरु थिए नि त! एडजस्ट गर्न सजिलो भयो। घरजस्तै,’ ओलावाले आरसिटीमा खेल्दाका सुरुआती दिन सम्झन्छन्।

ओलावालेका साथीहरु पछि स्वदेश फर्किए। अहिले ती खेलाडी यता छैनन्। नेपालमा सुरुआति दिनमा रानीपोखरी कर्नर टिम(आरसीटी) बाट खेल्दा उनी बललाई खुबै नचाउँथे। बल भेट्यो कि लिएर पोस्टमा पुगिहाल्थे। तिब्र गतिमा दौडिन्थे। उनको खेल देखेर प्यारापिटमा बसेका दर्शक उठेर जोडजोडले कराउन थाल्थे- ओलावाले ! ओलावाले ! गो‍…ल!

उनलाई त्यो मज्जाले सम्झना छ। ‘म खेल्नका लागि निकै भोको हुन्थेँ। युवा जोश थियो, प्यासेनेट थिएँ। धेरै दौडिन्थेँ। मैदानमा यताउता दौडिएको दौडियै गर्थेँ। कहिले त पोजिसनबाट बाहिर गइसक्थेँ,’ उनी आफ्नो खेलबारे विश्लेषण गर्छन्, ‘तर धेरैलाई थाहा छैन कि फुटबलमा मानिस अनुभवले निखारिँदै जान्छ। ती दिन र आजको तुलना गर्दा म निकै जिम्मेवार खेलाडी भएको छु। खेल सुधारिएको जस्तो लाग्छ।’

त्यही अघि भन्छन्, ‘धेरै मानिसले त्यो बुझ्दैनन्। तर फुटबल अहिले एडभान्स भइसक्यो। पहिले खुट्टाले खेलिन्थ्यो अहिले खुट्टा त एउटा उपकरण मात्र बनिसक्यो। फुटबल माइन्ड गेम भयो, सेन्सले खेल्नुपर्छ। पोजिसनमा रहेर पोसेसन बनाएर खेल्नुपर्छ। साथै अट्याक गर्दा पनि लक्ष्यमै प्रहार गर्नुपर्छ। स्ट्राइकरमा त झन् त्यो सेन्स हुन जरुरी छ। अहिले स्कोर गर्नको लागि धेरै काम गर्नुपर्छ। धेरैले यो बुझ्दैनन। उनीहरु दौडिएको मात्र हेर्न चहान्छन्। फुटबल हेर्ने त्यो शैली पनि पुरानो भइसक्यो।’

राउफको चाहना सुनेर अफिजले भन्ने गरेका छन्, ‘यदि भगवानले चहानुहुन्छ त म युरोपमा पनि खेल्नेछु। नभए म आफूले गरिरहेको काममा खुसी छु।’ यता राउफले सहरमा छरछिमेकी र साथीभाइसँग कुरा गर्दा भन्ने गरेका छन्, ‘मेरो छोरोले राम्रो फुटबल खेलिरहेको छ। ऊ नेपालभरी चर्चित छ।’

आरसीटीमा उनको पहिलो सिजन सकिनै लागेको थियो। तर उनी प्रतिबन्धमा परे। २०६८ सालतिर रंगशालामा फुटबल हेर्न जानेलाई थाहा हुनुपर्छ उनले रेफ्रीमाथि ‘म्यानहेन्डलिङ’ गरेको कारण एक वर्ष प्रतिबन्धमा परेका थिए।

प्रतिबन्धका दिनमा उनी भारत गए। उनले त्यहाँका टिम हेरे। तर, अनुबन्ध हुन सकेनन्। बरु मछिन्द्रले भुटानमा भइरहेको किंग्सकप खेल्न उनलाई बोलायो। उनी गए। यो २०१३ को कुरा हो। ‘किंग्स कप पछि मेरो प्रतिबन्ध समाप्त भयो। त्यसपछि संकटाका कुमार भट्टराईले मलाई सम्पर्क गरेर खेल्न अनुरोध गरे। म त्यहाँ जोइन भएँ,’ उनले क्लब परिवर्तनबारे सुनाए।

संकटामा उनले राम्रो खेलिरहेका थिए। दुर्भाग्यवस् लिगामेन्टमा चोट लाग्यो। त्यो चोट कसरी लाग्यो? सायद उनले कहिल्यै विसर्न सक्दैनन्। ‘रंगशालामा संकटाबाट आफ्नो पूर्वक्लब आरसिटीविरुद्ध खेल्दै दिएँ। त्यतिबेला रंगशालामा मैदानको अवस्था खराब थियो। धुलैधुलो थियो। घाँसको नामोनिसाना थिएन। म बलसँग दौडिरहेको थिएँ। कसैले मलाई छोएको होइन्। रंगशालामा बल नियन्त्रणमा लिने क्रम नमिलेको हुनाले म लडेँ। मेरो घुँडा मर्कियो,’ उनले लामो निश्वास लिएर भने।

लिगामेन्टमा चोट लागेपछि उपचारका क्रममा।

चोटले उनलाई डेढ वर्ष थलायो। मैदानबाहिरै बस्नुपर्ने भयो। त्यति लामो समय यहीँ बसेर उपचार गराउन सम्भव भएन। त्रिभुवन विमानिस्थलबाट सिधै अबुजा गए। त्यहाँबाट बसमा आठ घण्टाको यात्रामा इलोरिनस्थित घर पुगे। लामो समयपछि घर पुग्दा पनि राउफ र मेरियम खुसी हुन सकेनन्। दुःखी हुन सायद मनले मानेन।

रिकभरीका दुई वर्ष कति कष्टकर रहे, त्यो उनलाई बाहेक कसलाई थाहा होला? चोटबाट पुनरागमन अत्यन्तै गाह्रो क्षण हो। उनलाई कसरी सजिलो हुन्थ्यो। ‘चोट लागेपछि फुटबलप्रतिको मोह कम हुँदै गयो। मैले लगभग सबै जोश र उर्जा त्योगिसकेको थिएँ। मसँग प्रपर थेरापी पनि थिएन। मेरो सहरमा प्रपर रिहाबिलिटेसन सेन्टर थिएन्। घरमै युट्युबमा हेरेर अनि जिम गएर आफैं रिहाब गर्थेँ। त्यति हुँदासम्म पनि मम्मीले भन्ने गनुहुन्थ्यो–डन्ट गिभ अप,’ आफ्नो प्रेरणाको स्रोतबारे उनी बताउँछन्।

अन्तिम एकपटक प्रयास गर्न आमाले भनेपछि उनलाई केही उर्जा संचार हुन्थ्यो र रिहाब गर्थे। नेपालमा भूकम्प गएको नाइजेरियमै रहँदा थाहा पाए। टेलिभिजनमा समाचार हेरेर दु:खी भए। भुकम्पपछि भने नेपाल आए। त्यो वर्ष राष्ट्रिय लिग आयोजना भएको थियो। पछिल्लो पटक भएको राष्ट्रिय लिग पनि त्यही नै त हो। जहाँ थ्रिस्टारबाट उनले १० खेलमा सात गोल गरे अनि क्लबलाई उपाधि दिलाए।

त्यो समयमा उनलाई मनाङले हेरिरहेको थियो। किनभने उनले मनाङलाई उपाधि जित्नबाट बञ्चित गरेका थिए। ती दिन यस्तो थिए कि थ्रिस्टार र मनाङ स्टार खेलाडीले भरिन्थे अनि उनीहरुको खेल ठूलो मेलाभन्दा कम हुँदैन थियो। ‘त्यसको अर्को वर्ष मलाई मनाङले बोलायो। सन् २०१६ मा मैले मनाङबाट खेल्न सुरु गरेँ,’ ओलावाले सुनाउँछन्, ‘भूकम्पपछि लामो समय नेपालमा लिग नै भएन। अरु खेलाडीले जस्तै मैले पनि गोल्डकप खेलेँ। त्यसबेलामा नै होला मैले नेपालको धेरै भागमा डुल्न पाएँ। धेरै नेपाली फ्यान पाएँ। प्रतियोगिता खेल्नको लागि बंगलादेश पनि गएँ।’

‘फेरि यस्तो नि, पैसा मात्र पनि सबैथोक त होइन्। यहाँ त अब प्रेम नै भइसक्यो। यहाँको समर्थकसँग माया बसिसक्यो। तपाईंलाई जहाँ प्रेम र सम्मान एकैपटक मिल्छ त्यो ठाउँमा बस्नुपर्छ। बस्न सजिलो पनि हुन्छ। यदि तपाईं प्यासनले खेल्नुहुन्छ भने क्लबले तपाईंलाई हेर्न चाहिँ हेर्छ। उनीहरुले राम्रो पैसा दिन्छन्।’

उनलाई कति गोल्डकप खेलियो भन्ने यकिन छैन तर त्यसमध्ये मनपर्ने चाहिँ आहा रारा गोल्डकप हो। किनभने त्यहाँ उनी सर्वाधिक गोलकर्ता, धेरै पटक म्यान अफ दि म्याच, बेस्ट स्ट्राइकर भएका छन्। ‘पोखरामा उपाधि पनि जितेको छु। मलाई त्यहाँको मैदान र वातावरण मनपर्छ। माछापुच्छ्रे को राम्रो भ्यु देखिन्छ। तर, खेलेको समयमा त्यो भ्यु हेर्दिन। खै किन हो, आँखै जाँदैन। अर्को रमाइलो कुरा त त्यहाँ धेरै संख्यामा समर्थक आउँछन्। मलाई त्यो मनपर्छ,’ उनी भन्छन्। गोल्डकपकै दौरान मनाङ मर्स्याङ्दी क्लबबाट अफिज एकपटक बंगलादेश गएका थिए।

बंगलादेशको चित्तागोङ अबाहानीले उनको खेल देखेर आफ्नो देशमा खेल्नको लागि प्रस्ताव गर्‍यो। उनी पनि राजी भए र त्यहाँको शीर्ष डिभिजनको लिग खेले। बंगलादेशकै रहमतगन्जबाट पनि उनले केही खेल खेलेका थिए। सन् २०१८ मा चाहिँ नेपाल फर्किएर मनाङबाटै ए डिभिजन लिग खेले। त्यो सिजन उनी भरत खवाससँगै ‘जोइन्ट टप स्कोरर’ भएका थिए। भरतको टिमले लिग नजितेर ओलावालेको टिमले लिग जितेको थियो। त्यसकारण उनलाई आफूले धेरै गोल गरेकोमा बढी सन्तोष मिलेको थियो।

घरेलु लिग जितेपछि मनाङ एएफसी कप खेल्न छानियो। मनाङसँगै ओलावाले पनि एएफसी कप खेल्ने भए। त्यहाँ उनी केही विदेशी एजेन्टको आँखामा परे। एएफसी कप खेलेर घर फर्किसकेको समय थियो। सन् २०१९ को डिसेम्बरमा साउदीका एक एजेन्टले उनलाई खबर गरे। ‘मलाई खेल्न बोलाइयो। त्यहाँ अल हेजज क्लबबाट पाँच महिना खेलेको थिएँ कोभिड–१९ को महामारी सुरु भइहाल्यो। अनि सिजन नै सकियो,’ उनले अरबी फुटबलको निकै छोटो अनुभव लिए।

मनाङबाट खेल्दै ओलावाले।

लामो समय कोभिड–१९ को महामारी भएर महामारी सकिएपछि उनी फेरी नेपाल आएका आएका हुन्। यहाँ देख्न सकिन्छ–ओलावालेको जीवन धेरै अनिश्चितताबाट घेरिएको छ। राउफलाई लाग्थ्यो छोराको जीवन र भविष्य सुरक्षित होस्। जिविकोपार्जनको लागि राउफको पेशा सुरक्षित मानिन्छ। फुटबल अलि असुरक्षित हो कि भन्ने पनि भान हुन्छ। फुटबलमा चोटले कहिले थलाउँछ थाहै हुँदैन। तर ओलावालेले आफ्नो प्यासनलाई नै पेशा बनाए। यसमै जमिरहे।

‘सानोमा पढ्न कर गर्ने बुवा अहिले मैले फुटबल खेलेको देखेर खुसी हुनुहुन्छ,’ ओलावाले भन्छन्, ‘बुबा त अझै पनि मलाई युरोपको राम्रो लिगमा खेलेको हेर्न चाहनुहुन्छ।’

बुवाको चाहनाबारे ओलावालेले राउफलाई भनेका छन्, ‘यदी भगवानले चहानुहुन्छ भने म युरोपमा पनि खेल्नेछु। नभए म आफूले गरिरहेको काममा खुसी छु।’ यता उनका बुवाले चाहिँ आफ्नो सहरमा छरछिमेकी र साथीभाइसँग कुरा गर्दा भन्ने गरेका छन्, ‘मेरो छोरोले राम्रो फुटबल खेलिरहेको छ। ऊ नेपालभर चर्चित छ।’

ओलावाले बेडमा बसेर आफ्नो कथा भन्दै सुनाइरहँदा उनको मोबाइलमा तेस्रो पटक घण्टी बज्छ। मोवाइलमा मेसेज देखिन्छ। केही जवाफ लेख्छन् अनि बन्द गर्छन्। मैले अनुमान गरेँ, ‘सायद उनकी श्रीमती थिइन् कि!’

‘बिहे गरेका छन् त यिनले?’ मनमा प्रश्न उब्जियो। शब्द मिलाएर उनलाई सोधेँ।

‘गरेको छु,’ उनी हाँस्दै भन्छन्।

आमिनाज बोला तिनै नारीको नाम हो- जसलाई ओलावालेले मिस गरिरहन्छन्। मैले कुरा गर्दा पनि उनी फोन त खेलाइरहेकै थिए। श्रीमतिलाई नै मेसेज गरिरहेका रहेछन्। ‘म परिवारसँग सँधै कुरा गरिराख्छु। खेलको अघिपछि नै फोन गर्छु। जितेको दिन खेल सकिनेबित्तिकै बधाई आउँछ,’ उनले भने। खेलअघि ‘आमो’ (छोरी)सँग पनि कुरा गरिरहन्छन्। आमोलाई उनको परिवारले साब्रिन नाम राखिदिएको छ। साब्रिन यो वर्ष पाँच वर्षकी लाग्दैछिन्। आमोसँग मजाले कुरा गरेको दिन उनलाई खेल्न पनि रमाइलो लाग्छ।

श्रीमती आमिनाज बोलाका साथमा ओलावाले।

अरु समय त काममै बताउँछन् उनी। तर चाडवर्पमा भने निकै गाह्रो हुन्छ उनलाई। उनले कतिपटक आँशु पुछेर छोरीलाई हाँस्दै भिडियो कल गरेका छन्। छोरीलाई फोन गरेर ‘चाँडै आउने’ भन्दै ढाँटेका छन्। यस्तो बेलामा उनको मन ज्यादै दुख्छ। अनि अमिनाजको फोटो फोनमा हेरेर घण्टौं टोलाउँछन्।

घरमा दावत खाँदै गर्दा उनी शान्त होटेलको कोठामा फलफुल खाइरहेका हुन्छन्। ‘परिवार एकठाउँ तर आफू टाढा हुँदा कस्तो होला?’ म उनलाई प्रश्न गर्छु। ‘के नै गर्न सकिन्छ? यो जस्तो छ, छ। हामीले गर्ने कामको प्रकृति नै यस्तै छ,’ उनी भन्छन्, ‘यो शृंखला लामै भइसक्यो। मैले अब मुभअन पनि हुनुपर्छ जस्तो लाग्छ।’

चाडपर्वमा उनी धेरै समय अनलाइन बस्ने प्रयास गर्छन्। भिडियो कलमा चार्डपर्वका पल हेर्न छुटाउँदैनन्। खासमा उनी ज्यादै घरेलु स्वभावका मानिस हुन्। एक्लै त कहीँकतै हिँड्दैनन्। खाली समयमा कोठामै मात्र बस्न रुचाउँछन्।

आजभोलि उनी कोठामा बसेर गम्छन्। बच्चामा खेल्दाका ती साथी कता गए होलान्? तिनीहरुसँग त उनको सम्पर्क नै छैन। ‘जब मैले जोस छोडेँ नि त्यसपछि त्यहाँका साथीहरुसँग सम्पर्क नै भएन्। किनभने इलारिनबाट जोसको यात्रा बसमा १३–१४ घण्टा जति पर्छ। त्यति लामो यात्रा गरेर बच्चाहरु भेट्ने सम्भावना भएन। पछि आ-आफ्नो काममा। अहिले ती साथीहरु कहाँ होलान् के गर्दै होलान खै?’ उनी गम्छन्।

माध्यमिक विद्यालय पढ्दाको साथी सामसिङ चाहिँ उनीसँग सम्पर्कमा छन्। उनीहरु सेकेन्डरीमा मिल्ने साथी थिए। त्यसबाहेक उनका कोही साथी नै भएन्। सामसिङ अहिले अमेरिकी आर्मीमा छन्। उनलाई ओलावालेले एकपटक नेपालमा ल्याएका पनि थिए।

नेपालमा चाहिँ ओलावालेका त्यस्तो धेरै नजिकका साथी छैनन्। व्यवहारिक साथी मात्र। ‘मैले भने नि! म साथी बनाउँदिनँ। मलाई क्वालिटी समय बिताउनु पर्‍यो भने परिवारलाई फोन गर्छु त्यति हो,’ उनले छोटकरीमा आफ्नो कुरा सके।

‘काठमाडौंमा यत्राविधि रमाइला ठाउँ छन्। हेर्न, डुल्न जानुभएको छैन?’ उनको कुरा सुनेर मैले जिज्ञासा राखेँ।

‘ओ! नो। म जाँदिनँ। म अन्तर्मुखी स्वभावको छु। मलाई एक्लै बस्न मन पर्छ। मलाई बाहिर जान मनै पर्दैन। म सामाजिक टाइपको मानिस होइन। अभ्यास गरेर फर्किएपछि म निदाउँछु,’ उनी भन्छन्। उनको कुरा सुनिसकेपछि मैले बल्ल बुझेँ। उनले क्याफेमा मलाई किन भेट्न मानेनन्। उनलाई एक्लै बसेका बेलामा कुरा गर्न सहज लाग्छ रे। यद्यपि यो स्वभावले खेलका दौरान गर्नुपर्ने सञ्चारका लागि चाहिँ गाह्रो नभएको उनको अनुभव छ। उनी प्रशिक्षकले भनेको कुरा सजिलै बुझ्छन् र खेलमा सञ्चार पनि गर्छन्।

नेपालमा धेरै प्रशिक्षकसँग खेलिसकेका उनी नेपाली भाषा नै बुझ्ने भइसके। नेपालमा उनका पहिलो प्रशिक्षक मधु कार्की हुन्। त्यसपछि संकटामा राजुकाजी शाक्यसँग खेले। थ्रिस्टारमा राजेन्द्र तामाङ, मनाङमा तोफे फुजा, मछिन्द्रमा प्रवेश कटुवालसँग खेलेका उनले अहिले किशोर केसीको प्रशिक्षणमा खेलिरहेका छन्।

किशोर केसी

‘मलाई लाग्छ, फुजाको साथमा म धेरै खुलेर खेल्न सक्छु। उनको समयमा मैले राम्रो गरेको पनि हुँ। लिग जितेको छु,’ ओलावाले प्रशिक्षकसँगको अनुभव सुनाउँछन्, ‘नेपाली प्रशिक्षकको कुरा गर्दा उनीहरु स्वतन्त्र भएर खेल भन्छन्। नेपाली प्रशिक्षकहरु मबाट स्कोर भएको हेर्न चाहन्छन्।’

उनी पहिलो पटक नेपाल आउँदाको तुलनामा अहिले फुटबलमा धेरै फिलोसोपीको विकास भइसकेको छ। प्रशिक्षकका आ-आफ्नै सिद्धान्त बन्न थालेका छन्। मैदानमा कुन अवस्थामा कसरी खेल्ने? यस्ता योजना ड्रेसिङ रुममै बन्न थालेका छन्।

‘यस्तो योजना खेलाडीलाई बुझाउने शैली नेपाली प्रशिक्षकमा कस्तो पाउनु भएको छ?’ मैले सोधेँ।

‘हाम्रो नयाँ प्रशिक्षक किशोर केसी खेलका बारे धेरै डिटेलिङमा गएर बयान गर्छन्। खेलमा के–के हुन्छ, कस्तो अवस्थामा के गर्ने भनेर उनी सबैकुरा सम्झाउँछन्। उनी गहिरिएर बुझाउँछन्,’ उनले भने, ‘उनले मलाई मोटिभेट गराउँछन्। मलाई उनी धेरै मनपर्छ।’

ओलावालेसँगै नेपालमा खेलेका माइकलले मंगोलियामा खेलेर अहिले इटालीमा खेलिरहेका छन्। इलोसिलेले पनि अमेरिकामा फुटबल खेलिरहेका छन्। एजेन्ट कोलिन्सका अनुसार साहिद अजिजले पनि हंगेरी र बहराइनमा खेलिसकेका छन्। डिफेन्डर पिटर सेगुनले त नाइजेरियन प्रो लिग नै खेले।

ओलावाले पनि ती खेलाडीजत्तिकै उकृष्ट थिए। त्यसो भए आफैं चाहिँ ठूलो देश र क्लबमा किन ट्राइ गरेनन्? ‘मेरो एजेन्ट थिएन। अहिले पनि छैन। अनि आफैंले क्लबसँग सम्पर्क गर्न सकिँदैन,’ उनी जवाफ दिन्छन्।

सुरुवाती दिनहरुमा नेपालमा खेल्ने निर्णय ओलावालेको लागि सही थियो कि थिएन? उत्तर उनीसँग पनि छैन। नेपाली फुटबल लिग विदेशमा हेरिँदैन सायद। यसले गर्दा ठूला देशका ठूलो लिग खेलाउने प्रशिक्षक र एजेन्टको आँखा नेपालमा परेन्। उच्च फर्मममा हुँदा उनले राम्रो अफरको लागि प्रतिक्षा गरे तर पाएनन्।

‘म पहिले धेरै कौशलले भरिएको थिएँ। सौखिन थिएँ। युरोपमा खेल्न ज्यादै महत्वकांक्षी थिएँ तर मैले खेल्न पाइनँ। चोट लाग्नुअघि मैले ठूलो अफरको धेरै प्रतीक्षा गरेँ। त्यो नपाएपछि सँधै मेरो मन दु:खेको छ,’ उनी पिडा सुनाउँछन्।

साउदी अरेबियामा एएफसी कप खेल्दा त्यहाँको एक एजेन्टले उनलाई फलो गरे। केही अरु त्यस्ता क्लबहरुले पनि बोलाएको त थियो तर ति क्लबहरूले पैसा थोरै दिन्थे। उनलाई जान मन भएन।

‘के नेपाली फुटबलले दिएको पारीश्रमिक तपाईंको कलालाई न्याय गर्ने खालको छ?’ उनको कुरा काट्दै मैले सोधिहालेँ।

केही बेर रोकिएर उनले भने, ‘फेरी यस्तो नि, पैसा मात्र पनि सबैथोक होइन्। यहाँ त अब प्रेम नै भइसक्यो। यहाँको समर्थकसँग माया बसिसक्यो। तपाईंलाई जहाँ प्रेम र सम्मान एकैपटक मिल्छ त्यो ठाउँमा बस्नुपर्छ। बस्न सजिलो पनि हुन्छ। यदी तपाईं प्यासनले खेल्नुहुन्छ भने क्लबले तपाईंलाई हेर्नचाहिँ हेर्छ। उनीहरुले राम्रो पैसा दिन्छन्।’

उनका अनुसार नेपालमा केही खेलाडीले ‘डिजर्भ’ गर्ने पैसा पाइरहेका छन्। केही कमजोर खेलाडीले धेरै पनि पाइरहेका छन्। नेपालमा विदेशी खेलाडीले मासिक एक हजार देखि २ हजार ५०० अमेरिकी डलरसम्म कमाउने गरेका छन्।

‘जीवनमा जे पनि हुनसक्छ। अब के हुन्छ भन्नेमा भर पर्छ। तर म यहाँ धेरै खेल्न, जित्न चहान्छु। मैले नेपालमा सकेजति सबै जितेको छु। भविष्यलाई हेरेर नयाँ चुनौति लिनुपर्छ कि भन्ने लाग्छ,’ उनी भन्छन्, ‘फुटबलबाहेक नेपालमा बस्ने अरु केही कारण छैनन्। जब यहाँ फुटबल सिजन सकिन्छ म घर नै जाने त हो।’

उनको तलबले उनको खेललाई न्याय गरेको जस्तो लाग्छ, ओलावालेलाई। उनको प्रदर्शनका हिसाबले त फेरि पनि आरसीटी–संकटाकै कथा सम्झिनु पर्छ। त्यतिबेला उनी चार डिफेन्डरलाई छलाएर पनि गोल गर्न माहिर थिए। अहिले उनको त्यो कला लोप भएको छ। मैदानमा पहिलेको जस्तो फुर्तिलो ओलावाले देखिन छोडेका छन्। उनी धेरै समय बल होल्ड गरेर खेल्न थालेका छन्। आखिर किन त? त्यसपछिको कारण के हो?

उनी भन्छन्, ‘फुटबल टेक्निकल भइसक्यो। सेन्स धेरै चाहिन्छ। अहिले त दर्शकले फुटबल एनालाईज गर्छन्। पहिला त्यस्तो थिएन। पहिला खेलमा भएका गल्ती हेर्ने अवसर पनि हुँदैन थियो। म पहिले युरोपियन फुटबल हेर्दिन थिएँ। अनि दैडिएको दौडियौ गर्थेँ। म अहिले इंग्लिस प्रिमियर लिग धेरै हेर्छु। अहिले जो स्ट्राइकरलाई हेर्छु उनीहरु अनावश्यक दौडिँदैनन्।’

जतिबेला ओलावाले रिहाबको लागि घर फर्किएका थिए त्यतिबेला सिनियर र राम्रा खेलाडीसँग कुराकानी गर्ने मौका पाएका थिए। उनीहरु भन्थे, ‘स्ट्राइकर भएर टिमले के चहान्छ त्यो गर्नुपर्छ। प्रशिक्षकले के चाहन्छ त्यो गर्नुपर्छ। केही प्रशिक्षक चाहन्छन धेरै दौडिनु पर्छ। अर्का थरि प्रशिक्षक चहान्छन्-गोल गर्नुपर्छ। जब म सर्जियो अग्युरोजस्ता राम्रा खेलाडीलाई हेर्छु। उनी यताउता दौडिँदैनन्। उनी बललाई होल्ड गर्छन् स्पेस बनाउँछन् अनि गोल गर्छन्।’

उनले प्रश्नलाई सम्बोधन गर्दै भने, ‘मलाई लाग्छ १० वर्ष अघि र अहिलेमा त्यो फरक छ।’

डेढ दशक लामो समय फुटबलमा विताएका ओलावालेको जीवनमा फुटबल सबैथोक हो। उनलाई लाग्छ अहिले जे जसो छ, जे जति पाएका छन सबै फुटबलले दिएको हो। ‘अक्सर जब म फुटबललाई छोड्ने अवस्थामा पुगेको हुन्छु, परिवारले धेरै मोटिभेसन दिएको छ। मेरो जीवनको महत्वपूर्ण कुरा यति नै हो,’ उनले भने।

उनले आफ्नो जीवनको एउटा कालखण्ड नेपालमा फुटबल खेलेर विताएका छन्। उनले यहाँको लिग संरचना, खेल समय, मोफसलका प्रतियोगिता सबै देखे। खेलको स्तर थाहा पाए। अब कति समय यहाँ बस्छन भन्ने एकिन छैन्।

‘जीवनमा जे पनि हुनसक्छ। अब के हुन्छ भन्नेमा भर पर्छ। तर म यहाँ धेरै खेल्न, जित्न चहान्छु। मैले नेपालमा सकेजति सबै जितेको छु। भविष्यलाई हेरेर नयाँ चुनौति लिनुपर्छ कि भन्ने लाग्छ,’ उनी भन्छन्, ‘फुटबलबाहेक नेपालमा बस्ने अरु केही कारण छैनन्। जब यहाँ फुटबल सिजन सकिन्छ म घर नै जाने त हो।’

जब नेपालमा फुटबल सिजन सकिन्छ, उनी सिधै अबुजा गइहाल्छन्। अहिले उनको परिवार इलोरिनबाट अबुजा बसाईं सरिसकेको छ। जब उनी अबुजा पुग्छन् याउ उनलाई लिन विमानस्थिलमै आउँछिन्। उनी श्रीमतिलाई याउ भन्दा रहेछन्। उनीहरुको सन् २०१८ तिर विवाह भएको हो।

उनीहरुले सात वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। खासमा नेपाल आउनुभन्दा अघि नै उनको भेट अमिनाज बोलासँग भएछ। र, प्रेम सुरु भएछ। ‘म एकजना छिमेकीको पसलमा बसिरहेको थिएँ। अमिनाज त्यहाँ आइन र केही सामान खरिद गरिन्। मलाई उनी त्यतिबेलैबाट मनपर्यो। पहिले म उनीसँग बोल्न पाइन्। पछि मैले फेसबुकमा एड गरेँ। त्यसपछि हाम्रो मज्जाले कुराकानी भयो। च्याट गर्ने भयो,’ आफ्नो प्रेम काहानी संक्षेपमा सुनाउँछन्।

अहिले याउ ओलावालेकी सबैभन्दा नजिककी प्रेरणकी स्रोत हुन्। जब आफ्नो क्लबले जित्छ अमिनाज पनि खुसी हुन्छिन्। हार्दा दुःखी हुन्छिन्। ‘म यो पटक दुई वर्ष म्यान अफ दि म्याच भएको मैले नभनी उनले थाहा पाइएकी छन्। म खेलिरहेको बेलामा नाइजेरियाबाट अमिनाले पनि हेरिरहेकी हुन्छिन्,’ ओलावाले भन्छन्।

तर राउफले चाहिँ खेल हेर्दैनन्। ‘मैले गोल गरेको वा नगरेको अथवा खेलको स्कोर मात्र सोध्छन्। हारेको अवस्थामा उनले हारको कारण सोध्छन्,’ ओलावाले जानकारी दिन्छन्। अब त नासिर, साइदाज र कदिजाज पनि हुर्किसकेका छन्। उनीहरुको अझैसम्म पनि विहे भएको छैन। अबुरो नासिर पब्लिक एड्मिनिस्ट्रेसनबारे विश्वविद्यालयको अन्तिम वर्षमा अध्ययनरत छन्। सायद ऊ सरकारी सेवामा काम गर्ने ओलावालेको अनुमान छ। तर नासिर पनि राम्रो फुटबलर हुन्। ती उनका भाइ हुन्। बहिनीहरु साइदाज र कदिजाज पनि पढ्दैछन्।

मेरियम भने अब संसारमा रहिनन्। बाबु पनि रिटायर्ड भइसके। अमिनाज चाहिँ अबुजामा बच्चाहरुका ड्रेसको पसल चलाउँछिन। पसलमा बसेर हरेक सिजन ओलावालेको खेल हेर्छिन्। तर अमिनाजले धेरै वर्षयता नेपाली फुटबलमा परिवर्तन देख्न पाएकी छैनन्।

परिवर्तन नभएर होला नेपाली फुटबललका लागि ओलावालेको भन्नु धेरै छ। पहिले त आधारभुत काम गर्न बाँकी देख्छन् उनी। आउने पुस्ताका लागि राम्रो वातावरण बनाउन नेपालले दक्षिण एसियाली स्तरमा पहिले राम्रो गर्नुपर्ने उनको ठहर छ।

‘जब म पहिलो पटक नेपाल आएँ। त्यसपछि मैले यहाँ धेरै परिवर्तन देखेको छैन। लिग पनि उस्तै छ। पहिले पनि तीन महिना हुन्थ्यो अहिले पनि तीन महिना नै हुन्छ। मलाई लाग्छ एकै पोजिसनमा छ नेपाल। तर मानिस यसको विकास चहान्छन जस्तो लाग्छ,’ उनले भने।

लिगको फर्म्याट अलि सुधारिए खेलाडीलाई खुसी मिल्ने उनको विश्वास छ। उनले भारत, बंगलादेशको फुटबल नजिकबाट देखेका छन्। उनका केही साथीहरु भुटानमा पनि खेलिरहेका छन्। उनलाई ती देशहरु भन्दा नेपालको लिग स्तर कमजोर लाग्छ। किनभने नेपालभन्दा पछि रहेको भुटानका खेलाडी पनि अहिले ६–७ महिना लिग खेल्ने गरेको सबैले थाहा पाइरहेकै कुरा हो।

बंगलादेश लिगमा ओलावालेलगायत।

अहिले ओलावालेलाई मन दुख्ने कुरा अर्को पनि छ। नेपाली खेलाडी विदेशिएकोमा उनी चुकचुकाउँछन्। अघिल्लो सिजनको लिग खेल्ने ७० भन्दा धेरै खेलाडी विदेशिएका छन्। उनले ती खेलाडीसँग लामो समय खेल्दै आएका थिए।

‘पुराना, अनुभवी राम्रा र सक्रिय रुपमा खेलिरहेका खेलाडी फुटबलबाट बाहिरिनु हृदयविदारक दृष्य हो। यो कुराले मेरो मन दुखेको छ,’ ओलावाले भन्छन्, ‘तर म उनीहरुलाई दोषारोपण गर्दिन। उनीहरुले सायद फुटबलपछि, जीवनको दोस्रो अनुहार हेरे। हामी जहिल्यै फुटबल खेलिरहन त सक्दैनौँ नि! लिमिटेसन छ। सायद करियर १० देखि १५ वर्ष मात्र हो। त्यसैले उनीहरुले भविष्यलाई छाने।’

ती खेलाडीहरुले सायद नेपालमा फुटबलको विकास नभएको देखेर दिक्क माने होलान्। जबसम्म नेपालमा लिगको खेल सुरु हुँदैन तबसम्म थाहा हुँदैन कि नेपालमा लिग हुन्छ वा हुँदैन्। ‘यो कारणले चाहिँ म उनीहरुका लागि नराम्रो अनुभव गर्दिनँ। म उनीहरुको निर्णयदेखि खुसी छु। किनभने उनीहरुले राम्रो पैसा कमाइरहेका छन्। तर ट्यालेन्ट त वेस्ट भयो भन्ने पीर चाहिँ हुन्छ,’ उनले शान्त भावमा भने।

फुटबल करियर सुरु गर्दै गर्दाखेरी सिनियरहरु भकाभक विदेश गएको देखेर पनि कति जुनियर खेलाडी विदेशिएका छन्। अब उनीहरु फुटबलमा फर्किन्छन्,फर्किँदैनन् त्यो अनिश्चित छ। ‘फुटबलको हिसाबले यो दृष्य वास्तवमै हृदयविदारक हो। यो बारेमा बसेर सोच्नु पर्छ,’ ओलावालेले भने, ‘खेलाडीलाई व्यस्त बनाउनु पर्छ। वर्षको सात आठ महिना खेल्न सक्ने बनाउनु पर्छ। खेलबीचमा ब्रेक हुनुपर्छ। फुटबल त अब बिजनेस भइसकेको छ नि! अब त्यसरी नै अघि जानुपर्छ…।’

उनले हाँस्दै आफ्नो कुरा टुंग्याए। उनीसँग छुट्टिइसकेपछि मेरो निष्कर्ष रह्यो चोट लाग्दाको दुःख, पढाईका क्रमका आरोहअवरोह, जोसको दंगा, रुसको फ्रस्टेसन, विदेशी भुमीको बसाई, परिवारको यादका पिडाको भारी बोकेरमा मैदानमा दौडिने ओलावालेको जीवन साँच्चिकै अनिश्चितताको संगम रहेछ।

प्रकाशित: २०८० बैशाख २४ गते आईतबार १२:४४
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना