काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा हिमताल फुट्नुको मुख्य कारण भूपरिवर्तन भएको अध्ययनले देखाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्यालाइट तस्बिर तथा घटना अघिपछिको भूबनोटको अध्ययनबाट भू-हलचल नै हिमताल फुट्नुको मुख्य कारण हो।
विभागका अनुसार थामे आसपास स्याङबोचे र फोर्सेमा केही दिन अगाडिको वर्षा पनि भएको र तापक्रम पनि वृद्धि थियो।
साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति भएका थिए। ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुर्याएको छ।
फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ। यस्तै पद मार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो। यस्तै जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो।
३९ वर्ष अघि अर्थात् २०४२ साल साउन २० गते थामेको अर्को भाग ४४०० मिटर उचाइमा रहेको दिगच्छो हिमताल फुटेको थियो।


