चितवन- तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ।
भरतपुर अस्पतालमा परीक्षण सकेपछि भारतीय सेनाको जहाजबाट भारत लगिएको हो।
मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए।
बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ। उनीहरूको घर नेपाली सीमानाबाट नजिकै पर्ने भएकाले गाडीमा पठाइएको हो।
मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर पुगेकी थिइन्। उनले जिम्मा लिएर शव लिएर गएकी हुन्।
मृतक यात्रुका शव शुक्रबार आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो।
पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान ११ः३० बजेको समयमा तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो।
मृतकमध्ये १५ जना महिला, ११ जना पुरुष र एक जना चार वर्षकी बालिका छन्।
घटनामा घाइते भएका १६ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
चालक र सहचालक बाहेकका मृतक र घाइतेहरू भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका हुन्।
शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो।
